बाघको संख्या पत्ता लगाउन क्यामेरा जडान

राम बहादुर रावत
पुस १३ कोहलपुर, बाँके
बाघको बासस्थान तथा बाघको उचित संरक्षण गर्ने उद्देश्यले स्थापन भएको बाँकेको राष्ट्रिय निकुञ्जमा बाघको संख्या पत्ता लगाउनका लागि क्यामेरा जडान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघ अनुगमनका लागि क्यामेरा ट्रिप मेर्थड प्रयोगमा ल्याईएको छ । जीएसएल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहभागितामा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तले क्यामेराको मंगलबार उद्घाटन गरेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र आसपासको केहि मध्यवर्ती वन÷मध्यवर्ती सामूदायिक वनलाई समेटेर कुल १ सय २२ वटा ग्रिडहरु बनाई क्यामेरा जडान गर्न लागेको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सो ग्रिडले बाघ विचरण गर्ने संभावित स्थानहरुमा एकै स्थानको दुई तिर दुईवटा ‘पन्थारा भिसिक्स क्यामरा’ जडान गरिएको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले बताए । उनका अनुसार सो क्यामेराले बाघ विचरण गर्दा प्रति ०.३ सेकेण्डमा ३ पटक फोटो खिच्न सक्ने र उक्त फोटो सुरक्षित हुने बताए । साथै बाघ अनुगमन गर्दा करिब १६ रात सम्म क्यामेरा एउटै स्थानमा रहने छ भने पुनः अर्को स्थानमा सोहि क्यामेरा जडान गरिने छ । बाघको संख्यामा वृद्वि..बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्वि हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१३ मा बाँके राष्ट्रिय निकुञ्जमा ३ वटा बाघ रहेको थियो भने सन् २०१४ मा ४ पुगेको थियो । त्यस्तै २०१५ मा ६ र २०१६ मा ९ वटा बाघ रहेको कार्यालयले जनाएको छ । यस वर्ष बाघको संख्या यकिन गर्नका लागि क्यामेरा जडान गरिएको छ । हाल नेपालमा १ सय ९८ वटा बाघ रहेका छन् ।










