दुई वर्षमा पनि आयव्यय सार्वजनिक भएनदुई वर्षमा पनि आयव्यय सार्वजनिक भएन

मनीष खड्का
रुकुम, १३ पुस
रुकुमको खोलागाउँमा दुई वर्षअगाडि सञ्चालन गरिएको धार्मिक महोत्सवको आयव्यय अझै सार्वजनिक गरिएको छैन । महोत्सव हिमालय उमावि र जहारी क्याम्पस खोलागाउँको समग्र विकासका लागि भन्दै सञ्चालन गरिएको थियो ।
२८ फागुनदेखि २ चैत ०७१ सम्म चलेको महोत्सवमा करिब एक करोड ४५ लाख संकलन भएको प्रारम्भिक जानकारी गराइएको थियो । भूमि, तुला, गौदान र नगद गरी उक्त रकम संकलन भएको महोत्सव समापनका क्रममा जानकारी गराइएको थियो । महोत्सवबाट कति आम्दानी भयो, खर्च कति भयो र वचत रकम कहाँ खर्च गरियो भन्ने केही जानकारी गराइएको छैन ।
महोत्सवबाट करिब एक करोड ४५ लाख उठेको भए पनि अधिकांश जग्गा रहेको आयोजक समितिले जनाएको छ । ‘हचुवाको भरमा सहयोग घोषणा गरेको पाइयो,’ महोत्सव आयोजक समितिका संयोजक मनमोहन शाहले भने, ‘ऐलानी जग्गासमेत विद्यालयको नाममा दान गरिएको रहेछ ।’ उनले कुनै पनि जग्गादाताले अहिलेसम्म विद्यालयको नाममा जग्गा पास नगरेको बताए । जिन्सी र नगदबारे भने उनले केही खुलाएनन् । विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, स्थानीयले आयव्यय सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दै आए पनि महोत्सव आयोजक समिति र विद्यालयले आयव्यय सार्वजनिक गरेका छैनन् ।
समिति र विद्यालयबीच आरोप–प्रत्यारोप
महोत्सव आयोजक मूल समारोह समितिले महोत्सवको आयव्ययको सबै विवरण विद्यालयलाई बुझाइसकेको जनाएको छ । महोत्सवबाट उठेको र उठ्न बाँकी सम्पूर्ण विवरण विद्यालयलाई बुझाइसकेको आयोजक समितिका संयोजक मनमोहन शाहले जानकारी दिए । विद्यालयले कति र क्याम्पसले कति पाउने तथा उठ्न बाँकी सहयोग कसरी संकलन गर्ने भन्नेबारेमा पनि विद्यालयसँग कुराकानी भइसकेको उनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर ओलीले भने आयोजक समितिले महोत्सवबाट संकलन भएको सहयोग विद्यालयमा प्रयोग नगर्ने भनेपछि आफूहरूले वास्ता गर्न छाडेको बताए । ‘समितिले करिब दुई महिनाअगाडि महोत्सवको विवरण समेटिएको फाइल विद्यालयलाई बुझाएको छ,’ उनले भने, ‘तर, सहयोग विद्यालयमा प्रयोग नगर्ने भनेपछि त्यसलाई खोलिएको छैन ।’ महोत्सव आयोजक समितिका संयोजक शाहले भने विद्यालय र क्याम्पसमा कति–कति रकम खर्च गर्ने भनेर स्पष्ट व्यवस्था भएको दाबी गरे ।
मिलेमतो भएको आरोप
महोत्सव आयोजक समितिले विद्यालयमा प्रतिवेदन बुझाइसकेको छ, तर विद्यालयले प्रतिवेदन अहिलेसम्म खोलेको छैन । विद्यालयले सहयोग नपाउने भएपछि प्रतिवेदन नखोलिएको जनाए पनि आयोजक समितिले विद्यालय र क्याम्पसले कति–कति पाउने भन्ने स्पष्ट व्यवस्था गरिएको जनाएको छ । महोत्सव आयोजक समिति र विद्यालयको परस्पर विरोधी कुराले विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावक र विद्यार्थीको मनमा विभिन्न शंका–उपशंका उब्जेका छन् ।
परस्पर विरोधी कुरा र लामो सयमसम्म आयव्यय सार्वजनिक नगरिनुमा आयोजक र विद्यालयबीचमा मिलेमतो रहेको उनीहरूले आरोप लगाएका छन् । ‘दुवैको मिलेमतोमा आयव्यय गुपचुपमा राखिएको हुनसक्छ,’ विद्यार्थी सुमन ओलीले भने, ‘नत्र अहिलेसम्म आयव्ययप्रति किन सबै चुप छन् । पटक–पटक आयव्यय सार्वजनिक गर्न माग गरे पनि विद्यालय र आयोजक दुवैले कुनै न कुनै बहाना झिकेर टार्ने गरेको विद्यार्थी तथा अभिभावकको गुनासो छ ।




सम्बन्धित समाचार


error: Content is protected !!