प्रधानमन्त्रीद्वारा राष्ट्रिय एकताका लागि अपिल

काठमाण्डौ १० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभाकामना दिएका छन् ।

prachanda

प्रधानमन्त्रीले आइतबार एक सन्देश जारी गर्दै सो समुदायको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलूक भएको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको छ । विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो ।’
प्रधानमन्त्रीले सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको प्रतिबद्धता समेत जनाएका छन् ।
सन्देशमा प्रधानमन्त्री प्रचण्डले जनताको संघर्ष र वीरतापूर्ण बलिदानीबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेको भन्दै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता भएकामा जोड दिएका छन् ।
सरकार सम्वाद र सहमतिका आधारमा उल्लेखित लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको उनको भनाइ छ । प्रधानमन्त्रील सम्पूर्ण ख्रिश्चियन समुदायमा राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गरेका छन् ।

rss





error: Content is protected !!