कुलमान गरे खतरनाक खुलासा, बिजुली बिगारेर राजधानी अन्धकार बनाउन खोज्ने तत्व फेला प-यो

kulmanकाठमाण्डु, ८ पुस–काठमाण्डु उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौति थपिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै विद्युत्भार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले प्रणाली बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको बताए ।

काठमाडौँ उपत्यकामा हटाइएको विद्युत्भार कटौतीलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै घिसिङले यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।

घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै उनले प्राधिकरण ऐनानुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए ।

प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गरे । तीन वर्ष पहिले २९ अर्ब घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल ३५ अर्ब पुगेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी बनाउन र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवम् ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएकाले सरकारले मन लगाएर लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणमा कार्यरत विभिन्न कर्मचारी सङ्घसङ्गठनका प्रतिनिधिले प्राधिकरण सुधारको प्रक्रियामा साथ दिन आफूहरु तयार रहेको बताए । शनिबारसम्म चल्ने एकता सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए । रासस

 





error: Content is protected !!