पुनर्निर्माण खटिएका इन्जिनियरद्वारा सामुहिक राजीनामा

काठमाडौं, पुस ५  , प्राधिकरणका सिइओ भन्छन्-गलत गर्नुभयो काममा फर्कनुहोस्

भूकम्पपपछिको पुनर्निर्माण खटिएका करिब १३  सय प्राविधिक (इन्जिनियर, ओभरसियर, सवओभरसियर)ले मंगलबार सामुहिक राजीनामा दिएका छन्। उनीहरुले मंगलबार दिउँसो शहरी विकास मन्त्रालयको केन्द्रीय योजना कार्यान्वयन इकाइका प्रमुख शिवहरि शर्मालाई सामुहिक राजीनामा पत्र बुझाएका हुन्। ‘हामीले विभिन्न माग राखेर अल्टिमेटम दिँदा पनि सरकारले सुनुवाई नगरेकाले राजीनामा दिएका हौं’,  इन्जिनियर सन्तोष क्षेत्रीले भने, ‘यसमा ११ जिल्लामा खटेका ७० प्रतिशत प्राविधिक छन्।’

उनले अब सरकारले के गर्छ भन्ने बारेमा आफूहरु काममा फर्कन नफर्कने कुरा भरपर्ने बताए।

इन्जिनियरहरुले सेवा सुविधा, जीवन बीमा, सुरक्षा, कार्यालय र स्पष्ट निर्देशिका हुनुपर्ने माग राखदै केही दिनदेखि काम ठप्प पारेका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितलाई प्राविधिकको खाँचो भएका बेला उनीहरुले राजीनामा दिनु गलत भएको बताए। ‘यस्तो संवेदनशील बेलामा उहाँहरुले राजीनामा दिनुभएको छ, जबकी उहाँहरुका माग पुरा गर्न प्राधिकरणले पहल गरिरहेको छ’, ज्ञवालीले भने, ‘सरकारका गरिरहेको काम पुरा हुँदैन कि भनेर अनुमानका भरमा राजीनामा दिनु गलत हो।’

उनले राजीनामा स्वीकृत गर्ने नगर्ने छलफलपछि मात्रै निर्णय हुने बताए। राजीनामा दिएका इन्जिनियरलाई काममा फर्कन पनि उनले आग्रह गरे। ‘निर्देशक समितिले उहाँहरुको भत्ता र बिदा बढाउनेबारे निर्णय गरिसकेको छ, त्यो कार्यान्वयन हुन्छ’, ज्ञवालीले भने, ‘पुनर्निर्माणमा खटिएका इन्जिनियरले भत्ता नपाएर राजीनामा दिए भन्दा इन्जिनियरिङ पेसाप्रति नै नराम्रो सन्देश जान्छ।’

setopati





error: Content is protected !!