मनोज पुनले भारतबाट टेलिफोनमा भने, ‘दुर्गा तिवारीलाई मैले गोलि हानेको हुँ’

काडमाडौं– नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथि गोली हाने लगत्तै एक युवाले तिवारीका आफन्तलाई टेलिफोन गरी आफुले गोली हान्न लगाएको बताएका छन् । उक्त व्यक्तिले आफ्नो नाम मनोज पुन भएको बताएका छन् ।
घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् ।
‘स्थानिय मान्छेलाई फोन गरेर मैले मारेको हुँ भनेको खुल्न आएको छ’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी इन्सपेक्टरले भने, ‘मनोज पुन केही महिना अघि दखि भारतमा लुकिछिपी बस्दै आएका छन् ।’
आजभन्दा करिब ६ महिना अघि पनि मनोजको समुहले दुर्गा तिवारीमाथि आक्रमण प्रयास गरेको थियो । त्यतिबेला देखि नै फरार रहेका मनोज हालसम्म भारतमै लुकेर बसेको प्रहरीको भनाई छ ।
‘केही महिना अघि मनोजकै टिमले तिवारीमाथि गोली हानेको थियो’ अञ्चल प्रहरी कार्यालय लुम्बिनीका एसएसपी शेर बहादुर बस्नेतले भने, ‘त्यतिबेलाको गोली काण्डमा संलग्न ४ जनालाई पक्राउ गरेर मुद्धा चलाएका थियौं, तर मनोज भने त्यतिबेला देिख नै फरारको सुचिमा छन् ।’

एसएसपी बस्नेतका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।
तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरेको थियो । ‘मनोजल त्यहि रिसीवी साँधेका हुन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने, ‘राजनीतिक प्रतिसोधकै आधारमा तिवारी माथी गोली प्रहार भएको देखिन्छ ।’
राजनीति सँगै दुर्गा तिवारी रुपन्देहीमा इट्टाभट्टा ब्यवसाय पनि गर्थे । इट्टा ब्यवसायबाट राम्रै आम्दानी गरेका तिवारीलाई पछिल्लो समय मनोजले पैसा नदिए ज्यान मार्ने धम्कि समेत दिँदै आएका थिए । ‘पहिलो पटक गोली हान्नुको एउटा कारण पैसा पनि थियो’ अञ्चल प्रहरी कार्यालयका एसएसपी बस्नेतले भने, ‘पैसा नदिएपछि गोली हानेको देखिन्छ, हामी अनुसन्धान गरिरहेका छौं ।’










