प्रचण्डले लगाएको घडी कसको ?

काठमाडौं, पुस ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले मागेका आफूले बाँधेको घडी पनि फुकालेर जिम्मा लगाइदिन तयार रहेको बताएका छन् ।
नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रममा बोल्दै प्रचण्डले नेताको हकमा व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने माओवादीको नीति भएकाले सम्पत्ति विवरण कम देखिएको पनि दाबी गरे ।
वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित उनको पार्टी नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्ति विवरणबारे आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो स्पष्टोक्ति दिएका हुन् ।
‘यदि पार्टीले अहिले नै मैले लगाइरहेको घडी माग्यो भने यो पनि फुकालेर पार्टीलाई नै बुझाउन तयार छु’, उनले भने । उनले आफूले पार्टीकै सम्पत्ति उपयोग गरिरहेको पनि जिकिर गरे । ‘व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने नीति भएकाले कम सम्पत्ति देखिएको हो, अहिले मैले जे उपभोग गरेको छु, त्यो सबै पार्टीको हो’, उनले भने, ‘मैले व्यक्तिगत सम्पत्ति कहिल्यै जोडिनँ ।’
प्रधानमन्त्रीले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई छलफल र सहमतिका आधारमा पारित गरिने बताए । प्रस्तावित प्रदेशमा केही सीमाङ्कन हेरफेर हुनसक्ने भन्दै उनले विरोध छाडेर छलफल र सहमतिमा अघि बढ्न सबैलाई अपिल गरे ।
प्रधानमन्त्रीले सरकारले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावकारी तुल्याई केही ठूला योजना अघि बढाउने तयारीमा रहेको पनि बताए । आजको कारोबार दैनिकमा खबर छ ।










