किम जोङ उनले आफै गराए दक्षिण कोरियामा आक्रमण गर्ने विशेष अभ्यास

२७ मंसिर, एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियामा आक्रमण गर्ने विशेष आक्रमणको अभ्यास आफ्नै नेतृत्वमा गराएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
दक्षिण कोरियामा राष्ट्रपतिलाई महअभियोग लागेपछि राजनीतिक तनाव बढिरहेको समयमा उत्तर कोरियाले आक्रमणको तयारी गरिरहेको बुझिएको छ ।

उत्तर कोरियाको समाचार संस्था केसिएनएले दक्षिण कोरिया विरुद्ध आक्रमणको सैनिक अभ्यास कहिले भएको थियो भन्ने खुलाएको छैन भने दक्षिण कोरियाली राष्ट्रपतिलाई महाअभियोग लागेको बारे पनि केही उल्लेख गरेको छैन ।
उक्त समाचारमा दक्षिण कोरियाली राष्ट्रपतिको निवाश ब्लु हाउसलाई निशाना बनाएर आक्रमण गरेको डेमो समेत देखाइएको थियो ।
महाअभियोग लागेको भएपनि राष्ट्रपति पार्क ग्युन हे ब्लू हाउसमा बस्नेछिन् । उनीमाथिको महाअभियोगबारे अदालतले फैसला नगरे सम्म उनको अधिकार कटौती भएपनि उनलाई त्यहाँ बस्ने अधिकार दिइएको छ ।
दक्षिण कोरियाली प्रधानमन्त्री ह्वाङ क्यो आनले उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन् ।
उत्तर कोरियाबाट हुने कुनै पनि आक्रमणको प्रतिरोध गर्न दक्षिण कोरिया तयार रहेको समेत उनले बताएका छन् ।



