मुख्यमन्त्री कँडेलद्धारा राजिनामा ः नेकपाको भागमा कर्णालीको मुख्यमन्त्री

हेमन्त केसी
सुर्खेत, ९ साउन ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । उनले कर्णाली प्रदेशमा सुशासनको जग बसाएर योजना किनबेचको दलाली प्रर्थाको अन्त्य गर्दै योजनाबैकमार्फत योजना छनोट गर्ने विधि र अन्य प्रशासनिक सुधारका कामहरु गरेर करिब २ बर्ष ३ महिनाको कार्यकाल पुरा गरी शनिबार पदबाट राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेस र नेकपाले दर्ता गरेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा शनिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरे । उनले सत्ता र कुर्सीभन्दा प्रदेशको हित ठूलो भएको उल्लेख गरे । कँडेलविरुद्ध असार ३२ गते दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु हुनुअघि उनले आफ्नो धारणा राख्दै राजनीतिक परिवर्तन लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अभ्यास भएको बताए । उनले आफ्नो कार्यकालमा सुशासन, विकास र संस्थागत सुधारका क्षेत्रमा भएका कामलाई प्रदेशको दीर्घकालीन उपलब्धिका रूपमा लिएको स्मरण गराए ।
२०८० चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेल प्रारम्भमा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए । त्यसपछि २०८१ साउनदेखि कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन गरे । पछिल्लो राजनीतिक समीकरण फेरिएपछि उनले अविश्वास प्रस्तावको सामना गर्नुभन्दा अघि नै पदबाट राजीनामा दिएका हुन् ।
उनले आफ्नो कार्यकालमा कर्णालीमा विकासका नयाँ आधार तयार भएको दाबी गरे । पदभन्दा प्रदेशको भविष्य ठूलो हो उनले भने, नयाँ सरकारलाई प्रदेशको हितमा काम गर्न शुभकामना । उनले नयाँ सरकारको स्थायित्वबारे भने प्रश्न उठाए । प्रदेशसभामा उनले कम्युनिस्ट शक्तिहरूबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै भने, यहाँ आउँदै गर्दा एमालेका अध्यक्षसँग टेलिफोन भएको थियो । नेकपा र एमालेका दुई अध्यक्षहरुबीच सम्वाद जारी छ । प्रदेशमा नयाँ गठबन्धन त बन्यो, तर केन्द्र्रमा नयाँ राजनीतिक सहकार्य तयार हुँदा नयाँ बन्ने सरकारको भविश्य पनि धेरै छैन् ।
मुख्यमन्त्री कँडेलको कार्यकाललाई कर्णालीमा नीति र प्रणाली सुधारको सुरुआत गरे । प्रदेश सभा सदस्य एवं एमाले संसदिय दलका नेता टेकराज पछाईले मुख्यमन्त्री कंडेलको कार्यकाल सुशासन र समृद्धिको जग बनेको बताए । उनले भने, खासमा कंडेलको कार्यकालमा सुशासन, प्रशासन प्रर्णालीको सुधार, बजेटलाई सहि ढंगले कार्यन्वयन, जनताको आवश्यकतालाई केन्द्रमा राखि सार्वजानिक सेवा प्रबाह, पुराना रुग्ण रहेका योजना र प्रदेश गौरबका आयोजना कार्यन्वयनमा तिब्र गति, राजस्वमा सुधार, कानुन निर्माणले पनि गति लिनुका साथै अन्य प्रदेशरुले पनि सिकाईका रुपमा लिने गरी कार्यसम्पादन भएको छ । यस हिसावले मुख्यमन्त्री कंडेलको कार्यकाल सफल भएको छ ।
वर्षौंदेखि प्रदेश सरकारको आलोचना हुँदै आएको योजना वितरण प्रणालीमा सुधार गर्दै मुख्यमन्त्री कंडेलले योजना बैंकमार्फत योजना छनोट गर्ने अभ्यास सुरु गरे । यसअघि पहुँच र प्रभावका आधारमा योजना बाँडफाँट हुने आरोप लाग्दै आएको थियो । नयाँ प्रणालीमार्फत योजना आवश्यकताको आधारमा छनोट गर्ने विधि विकास गरिएको हो । प्रदेश सांसद दक्षिणा शाहीले भनिन्, पहिले पहिले बजारका होटलहरुमा योजना किनबेचका डिल हुन्थ्ये । बजेटको समयमा सुर्खेतका होटलहरुमा पार्टीका कार्यकर्ताहरु भरिभराउ हुन्थ्ये । तर मुख्यमन्त्री कंडेलको कार्यकालमा यो सबै ठप्प भयो । त्यस कारण पनि कंडेलका बिरुद्ध मोर्चाबन्दी नै भयो । सत्तापक्षबाटै असहयोग पनि भयो । बिचौलीयाले ठाँउ पाएनन् । यो नै उहाँको कार्यकालको सबै भन्दा राम्रो पक्ष हो ।
योजना बैंकको अवधारणाले स्थानीय तह, मन्त्रालय र सरोकारवालाबाट प्राप्त योजनालाई प्राथमिकता, आवश्यकता, सम्भाव्यता र बजेट क्षमताका आधारमा वर्गीकरण गर्ने व्यवस्था सुरु भएको छ । सांसद शाहीले भनिन्, यसले योजना छनोट प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढाएको छ । यसबाट योजना किनबेच तथा बजेटमा अनावश्यक चलखेल हुने पुरानो अभ्यास रोक्न सरकारले कडा नीति अवलम्बन गरेको थियो । बजेट विनियोजनलाई मापदण्डमा आधारित बनाउने, कार्यान्वयनको अनुगमन गर्ने तथा योजनाको डिजिटल अभिलेख राख्ने कार्यले पनि संस्थागत सुधारको आधार तयार गरेको उनले दाबी गरिन् ।
मुख्यमन्त्री कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारले प्रशासनिक खर्च कटौती, सरकारी संरचना चुस्त बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले ६ वटा निर्देशनालय खारेज गरेको छ । पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव संशाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई खारेज गरेको थियो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा संयोजनाका साथै सरकारको यो निर्णयबाट अनावश्यक प्रशासनिक खर्च घट्ने र शासन प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरेका छ ।
सुशासनलाई प्राथमिकतामा राख्दै सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न प्रशासनिक सुधार अघि बढाएको थियो । मन्त्रालयहरूको कार्यसम्पादन मूल्यांकन, बजेट खर्चको नियमित समीक्षा, अनलाइन प्रणालीको विस्तार तथा विकास आयोजनाको अनुगमनलाई व्यवस्थित बनाउने प्रयास गरिएको थियो । कर्णाली जस्तो स्रोत–साधन सीमित प्रदेशमा उपलब्ध बजेटलाई उत्पादनमुखी, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित गर्ने नीति पनि कँडेल सरकारले लिएको थियो । विकासलाई राजनीतिक प्रभावभन्दा आवश्यकता र परिणामसँग जोड्ने प्रयास गरिएको भन्दै सरोकारवालाहरुले त्यसलाई दीर्घकालीन सुधारको सुरुआत मानेका छन् ।
मुख्यमन्त्री कँडेलले आफ्नो कार्यकालमा प्रशासनिक अनुशासन कायम गर्न, वित्तीय अनुशासन बलियो बनाउन तथा सरकारी निकायबीच समन्वय बढाउन समेत जोड दिएका थिए । विकास आयोजनाको समयमै सम्पन्नता, खर्चको गुणस्तर र उत्तरदायित्वमा सुधार ल्याउने प्रयास गरिएको उनको भनाइ थियो । सरकारका सबै लक्ष्य पूरा हुन नसकेको स्वीकार गर्दै उनले सुधारको यात्रा निरन्तर रहने बताएका छन् । राजनीतिक अस्थिरताका कारण कतिपय योजना अपेक्षाअनुसार अघि बढ्न नसकेको भए पनि संस्थागत सुधारका आधार भने तयार भएको उनको दाबी छ ।
मुख्यमन्त्री कंडेलले प्रदेशको विकासका लागि सबै राजनीतिक दलले साझा प्रतिबद्धता देखाउनुपर्ने बताए । उनले आफुलाई सरकार संचालन गर्दा सहयोग गर्ने सबै राजनीतिक दल र सरोकारवालाहरुलाई धन्यबाद पनि दिए । मुख्यमन्त्रीको राजीनामासँगै अब कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ । प्रदेश प्रमुखले संविधानअनुसार बहुमत जुटाउन सक्ने दल वा गठबन्धनलाई सरकार गठनका लागि आह्वान गर्ने छन् । कर्णालीको राजनीतिमा आएको यो परिवर्तनसँगै अब नयाँ सरकारले कँडेल सरकारले सुरु गरेका सुशासन, योजना बैंक, पारदर्शी बजेट प्रणाली र विकास प्रशासनका सुधारलाई निरन्तरता दिन्छ वा नयाँ नीति अवलम्बन गर्छ भन्ने विषय सबैको चासोको बिषय बनेको छ । नेकपा एमालेको तपर्लबाट अध्यक्ष केपी वली र नेकपाको तर्फबाट प्रचण्डको विचमा सहमति भएसँगै कर्णालीमा नेकपाको भागमा मुख्यमन्त्री परेको छ ।









