कर्णाली राजमार्ग ः सडक झन् झन् जीर्ण, रोकिएन दुर्घटना

सुर्खेत ः सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस फोर्स गाडी गत बिहीबार साढे ११ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो । दुर्घटनामा परी एक जना घटनास्थलमै मृत भेटिए भने कैलालीको चिसापानी नजिकै कर्णाली नदी किनारमा एक पुरुष र एक महिलाको शव भेटियो । गाडीमा कति जना थिए भन्नेबारे अझै यकिन भएको छैन भने दुर्घटना भएको गाडी ६ दिनसम्म पनि भेटिएको छैन ।

गत वर्ष जेठ दोस्रो साता कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबीस नगरपालिका–२ सिस्नेडाँडामा मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म–१ ख ६६० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो भने ३३ जना घाइते भएका थिए । यसअघि पनि राजमार्गमा ठूला दर्जनौ दुर्घटना भएका छन् । २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले र कालीकोटको सेराबाडास्थित बित्तामोडमा २०६९ मा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएका थिए ।

कर्णाली प्रदेशमा भएका सडक दुर्घटनामध्ये कर्णाली राजमार्गमा सबैभन्दा बढी झण्डै ५६ प्रतिशत दुर्घटना भएको प्रहरी तथ्यांक छ । राजमार्गमा झण्डै आर्थिक वर्ष २०७१र७२ देखि अहिलेसम्म ९ सय १७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ३ वर्षको अवधिमा मात्रै यही सडकमा १ सय ११ जनाले ज्यान गुमाएका छन् भने ३ सय ९ जना घाइते भएका छन् । साघुँरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण कर्णाली राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए ।

‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेका छन्,’ उनले भने, ‘कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा राजमार्गमा १ सय १३ दुर्घटनामा ३४, गत आर्थिक वर्षमा ३१ र आर्थिक वर्ष २०८०र८१ मा ४६ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा १ सय ९० जना घाइते भएको प्रहरी तथ्यांक छ ।

प्रहरीका अनुसार एक दशकको अवधिमा कर्णाली प्रदेशभरि ४ हजार २ दुर्घटना हुँदा १ हजार ६ सय ३७ जनाको मृत्यु भएको थियो भने १ हजार ९ सय २७ जना घाइते भएका छन् । कर्णालीमा मध्यपहाडी लोकमार्गसहित राप्ती राजमार्ग, कर्णाली करिडोर, नेपालगन्ज–सुर्खेतलगायत सडक सञ्चालनमा छन् । ती राजमार्गमा भने दुर्घटनाको दर कर्णाली राजमार्गभन्दा कम भएको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गमा सडकको दयनीय अवस्था, पुराना सवारी साधन र चालकको लापरबाही दुर्घटना बढ्नुको मुख्य कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार ओभरलोड, साँघुरो तथा बिग्रिएको सडक र तीव्र गतिले पनि दुर्घटना बढिरहेका छन् ।

सडक यातायातमा भर्खर पहुँच बढाइरहेको कर्णालीमा पछिल्लो समय लगातार भएका दुर्घटनाका खबरले यात्रु र सवारी चालक त्रसित बनेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल बताउँछन् । ‘अरुतिरभन्दा कर्णाली राजमार्गमा हुने दुर्घटना बढी भयानक पनि छन्, भर्खरकै दुर्घटनामा पनि ६ दिनसम्म गाडी भेटिएको छैन,’ उनले भने, ‘यहाँ त दुर्घटना भयो कि मानवीय क्षति ठूलो हुन्छ, जसले त्रासैत्रासमा यात्रा गर्नुपर्ने जोखिम बढायो ।’

कर्णाली राजमार्गमा सबैभन्दा बढी दुर्घटनाको जोखिम दैलेखको दहीखोलादेखि कालीकोटको गाल्जेबजारसम्म छ । यो सडकखण्डमा ३ वर्षको अवधिमा ९८ वटा दुर्घटना भएका छन् । जसमा ३५ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यो खण्डमा दैलेखको दहीखोला, किटुभीर, कालीकोटको सेरावाडा, टिमुरे, ताडीभीर, विहानी, हुल्मजीतेलगायत ठाउँमा दुर्घटनाको जोखिम बढी छ ।

चालु आर्थिक वर्षमा ७ जनाले यही खण्डमा दुर्घटना हुँदा ज्यान गुमाएका छन् भने गत वर्ष ११ र आर्थिक वर्ष २०८०र८१ मा १७ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार बढ्दो दुर्घटना रोक्न राजमार्गमा रातिको समयमा गाडी चलाउन निषेध गरिएको छ ।

कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डका विभिन्न स्थानका साँघुरा मोडहरूले दुर्घटनाको जोखिम बढाएको इन्जिनियर कर्णबहादुर केसीले बताए । उनका अनुसार राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन भने अधिकांश ठाउँमा ट्राफिक संकेत नहुँदा पनि दुर्घटना बढिरहेको छ ।

‘सुरुवाती चरणमै राजमार्ग दुई लेनको हुनुपर्ने हो,’ उनले भने, ‘सेनाले हतारहतारमा काम गरेकाले पनि मापदण्ड नपुगेको हुनसक्छ, पछि जति प्रयास गर्दा पनि त्यो मापदण्ड पूरा भएन ।’ उनका अनुसार इन्जिनियरिङ मापदण्डअनुसार भन्ने हो भने जुम्लादेखि २ सय ३२ किमिको यात्रा मात्र ६ घण्टामा पूरा हुनुपर्छ । तर यात्रुहरु अहिले २४ घण्टासम्मको यात्रा गर्न बाध्य छन् ।

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सडकमा आर्थिक वर्ष २०७६र७७ सालमा ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो । सरकारले विश्व बैंकको एक अर्ब रुपैयाँ सहयोगमा सुर्खेतबाट खिड्कीज्युलासम्म १ सय २६ र खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किलोमिटर सडकमा कालोपत्र गरेको थियो । अहिले सडकको करिब ८० प्रतिशत कालोपत्र उप्किएको छ ।

राजमार्गमा मर्मतका लागि तीन आर्थिक वर्षमा झण्डै ६७ करोड रुपैयाँ खर्च भएको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाका अनुसार चालु आर्थिक वर्षमा २४ करोड, गत आर्थिक वर्षमा २१ करोड र आर्थिक वर्ष २०८०र८१ मा ३१ करोड रुपैयाँ सडक मर्मतका लागि खर्च भएको हो । ‘जताततै पहिरोको जोखिम छ, अधिकांश बजेट पहिरो रोक्दैमा सकियो,’ सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंह ले भने, ‘पहिलो वर्ष काम गर्‍यो, अर्को वर्ष फेरि पहिरो आउँछ, अर्को वर्ष त्यही पहिरोमा फेरि काम गर्नुपर्ने बाध्यता छ ।’

कर्णाली राजमार्गमा कालोपत्र मर्मतको काम लामो समयदेखि अलपत्र हुँदा पनि सडक जीर्ण बन्दै गएको हो । सडक डिभिजन कार्यालयले जुम्लाले एक साताअघि कर्णाली राजमार्गअन्तर्गत लामो समयदेखि अलपत्र परेका १६ वटा ठेक्काको सम्झौता तोडेको छ । उसले दुई महिनाअघि पनि राजमार्गकै १० वटा रुग्न ठेक्का तोडेको थियो । कार्यालयका सूचना अधिकारी सिंहका अनुसार ठेक्का तोडिएका योजनाहरु आर्थिक वर्ष २०७४र७५ देखिका हुन् ।

‘ठेकेदार कम्पनीलाई पटक(पटक लिखित ताकेता गर्दासमेत निर्माणमा चासो नदेखाएपछि सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाअनुसार ठेक्का रद्द गरिएको हो,’ उनले भने, ‘हामीले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय कालीकोटका १२, जुम्लाका ३ र मुगुका एक गरी १६ वटा ठेक्का अन्त्य गरेका छौं ।’ उनका अनुसार निर्माण व्यवसायीहरुमा लामो समयदेखि ठेक्का लिने तर काम नगर्ने प्रवृति देखिएको छ ।

बर्सेनि सडक मर्मतमा करोडौं रकम खर्च हुने गरे पनि सडकमा जोखिम उस्तै रहेको गाडी चालक मिलन क्षेत्रीले बताए । ‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आए ब्याक गर्नुपर्छ,’ उनले भने, ‘सडकमै कुनै गाडी बिग्रिए अरू गाडीका समेत त्यतै बास बस्नुपर्ने बाध्यता छ ।’ सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको नागरिक अभियन्ता कमल विकले बताए । ‘सस्तो प्रविधिको पिच गरियो, त्यसमा पनि गुणस्तरीय काम भएन,’ उनले भने, ‘अहिले वर्षैभरि धूलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता छ, त्यसमा दुर्घटनाको जोखिम उस्तै ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो । चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले २०६३ चैत ३० गते ट्रयाक खोलेको थियो ।

एक अर्बको लगानीमा ‘सेफ्टी बार’, कतै जीर्ण त कतै भत्किए

कर्णाली राजमार्गमा सडक सुरक्षाका लागि निर्माण गरिएका अधिकांश ‘सेफ्टी बार’ जीर्ण बनेका छन् । आर्थिक वर्ष २०७६र७७ सालमा विश्व बैंकको सहयोगमा ओटासिल प्रविधिको कालोपत्रसँगै दुर्घटना कम गर्न साँघुरो र भिरालो ठाउँमा फलामे ‘सेफ्टी बार’ र सडक फराकिलो भएको ठाउँमा पर्खाल लगाइएको थियो । तर पहिरो र माथिबाट खसेको ढुंगा लागेर अधिकांश ठाउँमा भाँचिएका छन् भने बाँकी रहेका ‘सेफ्टी बार’ पनि जीर्ण बनेका छन् ।

‘चालकको मनोबल बढाउन र यात्रुलाई सुरक्षित भएको महसुस गराउन सेफ्टी बार सहयोगी थियो,’ जिल्ला ट्राफिक कार्यालय कालीकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक नन्दबहादुर विष्टले भने, ‘सेफ्टी बारले सामान्यतयाः मोटरसाइकल र तीनपाङग्रे गाडीलाई दुर्घटना भए पनि ठूलो क्षति हुनबाट रोक्न सक्छ, अन्य गाडीका लागि पनि सहयोगी हुन्छ ।’

राजमार्गको अप्ठ्यारो र भिरालो ठाउँमा डिलबाट सिधै कहालीलाग्दो भीर र कर्णाली नदी देखिने हुँदा ‘सेफ्टी बार’ लगाउँदा यात्रुले पनि सुरक्षित महसुस गर्ने १२ वर्षदेखि सुर्खेत–जुम्ला रुटमा गाडी चलाइरहेका चालक विक्रम रोकायाले बताए । ‘अचेल धेरै ठाउँमा बार भाँचिएकोले हामी त डराउँछौं,’ उनले भने, ‘झन् यात्रु त आत्तिने नै भए ।’

कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालीकोटको सेरावाडा, टिमुरे, ताडीभीर, बिहानी, हुल्मजीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा फलामे ‘सेफ्टी बार’ हालिएको थियो । रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट ९आरएसडिपी० को सहयोगमा झण्डै एक अर्ब रुपैयाँमा राजमार्गमा फलामे बार लगाएको थियो ।

साघुँरो र अप्ठ्यारो ठाउँमा लगाइएको ‘सेफ्टी बार’ले केही ठाउँमा भने सडक साघुँरो बनाएको ताडी बजार ब्यववस्थापन समितिका अध्यक्ष खडानन्द चौलागाईले बताए । उनका अनुसार केही ठाउँमा लगाइएका ‘सेफ्टी बार’का कारण पैदल यात्रुलाई पनि हिँड्न कठिनाइ छ ।

‘स्पिडमा आएको गाडीले पैदल हिँड्दा बारमा च्याप्ने डर छ,’ उनले भने, ‘केही ठाउँमा त पैदल यात्रुलाई हिँड्ने बाटोसमेत छोडिएको छैन ।’ उनले ताडीबाट मान्मबजार जान अन्य ठाउँमा बाटो नभएकाले समस्या हुने सुनाए । ‘राजमार्गमा दोहोरो गाडी सञ्चालन गर्न सडक पुग्दैन, सिंगललेनको सडकमा विपरीत दिशाबाट आएको गाडीलाई साइड दिन गाडी ब्याक गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कडा चट्टान भएकाले चौडा गर्न पनि कठिनाइ छ ।’





error: Content is protected !!