दुई महिनामा जाजरकोटमा २२ मुद्दा दर्ता, २६ अवैध घरेलु हातहतियार नियन्त्रण

सुर्खेत , २४ असार : जिल्ला प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ ६ गतेदेखि असार २३ गतेसम्मको अवधिमा अपराध नियन्त्रण, अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ।
कार्यालयका अनुसार उक्त अवधिमा २२ वटा फौजदारी मुद्दा दर्ता भएकामा १३ वटा मुद्दा फर्छ्योट भएका छन्। हराएका २० जना व्यक्तिमध्ये सबै २० जनालाई फेला पारिएको छ। घरेलु हिंसासम्बन्धी १४ वटा उजुरी दर्ता भएकामा सबै १४ वटा फर्छ्योट गरिएको छ। त्यसैगरी प्राप्त २६ वटा ठाडो उजुरीको समेत शतप्रतिशत फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।
यस अवधिमा फरार रहेका छ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। उनीहरूबाट एक महिना १३ दिन बराबरको कैद असुल गरिनुका साथै रु १८ लाख चार हजार दुई सय जरिवाना असुल गरिएको छ। आत्महत्या दुरुत्साहन मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।
प्रहरीले २६ नाल अवैध घरेलु हातहतियार नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ७२ दशमलव ९० ग्राम चरेससहित एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। त्यस्तै अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) ओसारपसार गरिरहेका तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिई रु २४ हजार पाँच सय राजस्व असुल गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न विषयमा १३० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच हजार चार सय ६२ जना नागरिकलाई सचेत गराइएको कार्यालयले जनाएको छ।
प्रविधिमैत्री र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै भेरी नगरपालिका–१३ कुदुस्थित डोल्पा–जाजरकोट सडकखण्ड तथा बजार क्षेत्रमा आठ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी गतिविधिको निगरानीका लागि ‘सोसल मिडिया मोनिटरिङ डेस्क’ स्थापना गरिएको छ भने सडक प्रयोगकर्तालाई सचेतना, गुनासो दर्ता तथा विभिन्न निवेदनका ढाँचासम्बन्धी जानकारी उपलब्ध गराउन क्यूआर कोड प्रणाली लागू गरिएको छ।
प्रहरीले समाजमा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूको प्रोफाइल तयार गरी निगरानी बढाएको, सामाजिक सञ्जालमा देखिने सवारी नियम उल्लङ्घनका घटनामाथि कारबाही थालेको तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सादा पोशाकमा एकरूपता कायम गरिएको जनाएको छ।
कार्यालयले अन्तरजिल्ला सुरक्षा समितिको बैठक आयोजना गर्नुका साथै कार्यालय परिसरको स्तरोन्नति, वृक्षारोपण, हाइकिङ तथा नेचर वाक, कार्यरत तथा भूतपूर्व प्रहरी कर्मचारी र थुनुवाका लागि स्वास्थ्य शिविर तथा बीएमआई परीक्षण सञ्चालन गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न ‘बेस्ट पुलिस अफ द मन्थ’ कार्यक्रमसमेत सुरु गरिएको छ।
यसका साथै कार्यालयको फेसबुक पेजलाई सक्रिय बनाई सूचना प्रवाह, जनचेतनामूलक सामग्री तथा प्रहरी गतिविधिलाई नियमित रूपमा सार्वजनिक गर्ने कार्यलाई समेत प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।







