घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने

सुर्खेत ,१३ असार ः सार्वजनिक सेवा प्रवाहलाई छरितो, सहज र पारदर्शी बनाउने अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णतः डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ । अब नगरवासीले घरमै बसेर भवन निर्माण अनुमति लिनका लागि आवेदन दिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सक्ने भएका छन् ।

नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (ई–बीपीएस) को औपचारिक शुभारम्भ गरेको हो । नगरप्रमुख मोहनमाया ढकालले प्रणालीको उद्घाटन गर्दै आगामी साउन १ गतेदेखि सेवा पूर्णरूपमा कार्यान्वयनमा आउने जानकारी दिनुभयो । कर्णाली प्रदेशमै पहिलोपटक सञ्चालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिकामध्ये वीरेन्द्रनगरलाई डिजिटल सेवा प्रवाहमा अग्रणी नगरपालिकाका रूपमा स्थापित गर्ने विश्वास नगरपालिकाले लिएको छ ।
यससँगै नगरपालिकाले एकीकृत नगरपालिका सूचना प्रणाली (आईएमआईएस) समेत सञ्चालनमा ल्याएको छ । यी दुई प्रणालीले नगर प्रशासनलाई अझ प्रविधिमैत्री, उत्तरदायी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । ई–बीपीएसमार्फत सेवाग्राहीले भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, राजस्व तथा सेवा शुल्क तिर्ने, निवेदनको अवस्थाबारे अनलाइनमार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सबै प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट गर्न सक्नेछन् । यसले कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै समय, श्रम र खर्चको उल्लेख्य बचत हुने विश्वास गरिएको छ ।
नगरप्रमुख ढकालले प्रविधिको प्रयोगसँगै नगरपालिकाको सेवा प्रणालीमा गुणात्मक सुधार आएको बताउनुभयो । उहाँले नागरिकमैत्री सेवा विस्तार गर्दै वीरेन्द्रनगरलाई आधुनिक र प्रविधिमैत्री नगरका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइएको उल्लेख गनुभयो ।
नगरप्रमुख ढकालले पश्चिम नेपालकै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यअनुसार सूचना प्रविधिमा आधारित सुशासनलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि बताउनुभयो । नगरपालिकामा २७ वर्षदेखि कार्यरत इन्जिनियर किशोर कँडेलले ई–बीपीएसलाई नगरपालिकाको सेवा सुधारमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि कागजी प्रक्रियामा आधारित प्रणालीका कारण ढिलासुस्ती, झन्झट र अभिलेख व्यवस्थापनमा चुनौती देखिने गरेको थियो ।










