जुम्लाबाट पाँच हजार मेट्रिकटन स्याउ निर्यात

जुम्ला ः जिल्ला कृषि विकास कार्यालय जुम्लाले यो वर्ष पाँच हजार पाँच सय ९१ मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको तथ्यांक सार्वजनिक गरेको छ । १८ हजार २ सय ४५ मेट्रिकटन उत्पादन भएकोमा ५ हजार ५ सय ९१ मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको हो । कृषि कार्यालयका तथ्यांक अनुसार कुल उत्पादनको ३० प्रतिशत स्याउमात्र जिल्ला बाहिर निर्यात भएको हो । निर्यात भएको स्याउबाट ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ भित्रिएको हो । तथ्यांकले गत वर्षको तुलनामा स्याउको खेती भने बढेको देखाएको छ ।
गत वर्ष ४ हजार ३ सय ७७ हेक्टर ओगटेकोमा यो वर्ष बढेर ४ हजार ४ सय ९७ हेक्टरमा फैलिइएको छ । गत वर्ष २ हजार ३९ हेक्टरमा रोपिएको स्याउ फलेकोमा यो पटक बढेर २ हजार १ सय ६५ हेक्टरमा रोपिएको स्याउ फलेको हो । तर असिना र बेमौसमी वर्षाले यो पटक गत वर्षको तुलनामा स्याउको उत्पादन घटेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्ली स्याउ बगैंचामै ६५ रुपैयाँ ५० पैसादेखि माथिको मूल्यमा किनबेच भएको छ । केही पालिकाहरुले बगैंचामै ७० रुपैयाँ बगैंचामै मूल्य पाएका छन् । इटालियन जातको फुजी स्याउ भने बगैंचामै एक सय ७५ रुपैयाँ भन्दा धेरै मूल्यमा बेचिएको छ । उनका अनुसार जिल्लाभित्रै चारहजार चार सय १५ मेट्रिकटन स्याउ खपत भएको छ । यो कुल उत्पादनको २५ प्रतिशत हो । जुम्ला बसपार्क र विमानस्थलबाट नासो र कोसेली स्वरुप १५ प्रतिशत स्याउ जिल्ला बाहिर गएको उनको भनाइ छ ।
स्याउको चाना, जुस, जाम, साइटर, ब्राण्डी र माड लगायतमा दुई हजार ६ सय ४८ मेट्रिकटन स्याउ खपत भएको छ । यो पटक केही स्याउ किसान आफैंले बजारसम्म पुर्याएकोमा केही व्यापारीहरुले बगैंचामै पुगेर खरिद गरेका थिए । पछिल्लो समयमा तापक्रम बृद्धिसँगै स्याउमा रोगकीराको संक्रमण बढेको छ । कहिले धेरै वर्षा भइदिने त कहिले खडेरी पर्ने भएकोले हरेक वर्ष स्याउको उत्पादनका गिरावट आएको देखिन्छ ।
स्थानीय जातकोमा रेडडेलिसेस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायतका विभिन्न जात फल्छन् । उच्च घनत्वको स्याउमा गाला र फुजी जात छन् । अहिले भण्डारण गृहमा एक हजार ७ सय ६५ मेट्रिकटन स्याउ स्टक छ । स्याउको उत्पादन पछि टिप्ने र ढुवानीका क्रममा १० प्रतिशत स्याउ नष्ट भएको तथ्यांकमा उल्लेख छ । जुम्लामा १९ हजार १ सय ५० घरले स्याउ बगैंचा निर्माण गरेका छन् । स्याउको रेकर्ड राख्न कर्णाली राजमार्गमा रहेको नाग्म प्रहरीचौकीलाई आग्रह गरिएको थियो । आठवटा स्थानीयतहको तथ्यांक र बसपार्क र विमानस्थलबाट गएको स्याउकोसमेत रेकर्ड अनुसारको तथ्यांक केलाउँदा यो वर्ष गत वर्षको भन्दा कम स्याउ निर्यात भएको हो ।







