छायाँनाथ राराका नगर प्रमुख भामले गरे दोस्रो पटक सम्पत्ति विवरण सार्वजनिक

मुगु ः छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो सम्पत्ति विवरण दोस्रो पटक सार्वजनिक गरेका छन्। जेनजी मुगुको समन्वयमा सोमबार नगर प्रमुख भामले आफ्नै कार्यकक्षमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएसँगै कार्यभार सम्हालेको एक साताभित्रै जिल्लामै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका नगर प्रमुख भामले जेन्जि मुगुको समन्वयमा सोमबार आफ्नै कार्यकक्षमा सम्पत्ति विवरण सार्वजनिक गरे।

जेनजी मुगुले नगर प्रमुख भामलाई सम्पत्ति विवरण स्पष्ट रूपमा सार्वजनिक गर्न आग्रह गरेपछि सोमबार जेनजी मुगुका संयोजक राजेन्द्र शाही, समूहका सदस्यहरू तथा नागरिक समाजका अगुवाहरूको उपस्थितिमा सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार नगर प्रमुख भामसँग १४ तोला सुन, २० तोला चाँदी, ११ लाख रुपैयाँ बराबरको बैंक मौज्दात तथा नगद रहेको छ। साथै विभिन्न स्थानमा रहेको जग्गाको विवरणसमेत सार्वजनिक गरिएको छन्।

उनका अनुसार मुगुको साविक कार्कीवाडा गाविसमा कित्ता नं ५१ मा ४२ हजार ३१३ वर्ग मिटर, साविक श्रीनगर गाविसमा कित्ता नं ५ मा ५५८ वर्ग मिटर, साबिक पिना गाविसमा कित्ता नं। ३ मा ४ हजार ५५८ वर्ग मिटर तथा सुर्खेतको साविक लाटिकोइली गाविसमा २ कित्ता गरी ३६२ वर्ग मिटर जग्गा रहेको छ।

त्यसैगरी छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँमा रहेको सात कोठे निजी निवास, गमगढी बजारको आठ कोठे घर तथा नेपालगन्जमा रहेको तीन तले घर आमाको नाममा रहेको र ती सबै पुर्ख्यौली सम्पत्ति भएको नगर प्रमुख भामले बताए। गमगढी बजारको छ कोठे घर भने श्रीमती अनिता रावलको नाममा रहेको उनले स्पष्ट पारे।

प्रायः सबै जग्गा आमाको नाममा रहेकाले कुनै पनि जग्गामा आफ्नो नाम नरहेको र ती सम्पत्तिमा आफ्नो व्यक्तिगत हकदाबी नरहेको नगर प्रमुख भामको भनाइ छ। ती सबै सम्पत्ति पुर्ख्यौली भएको उनले दाबी गरे।

सार्वजनिक विवरण अनुसार घरमा तामाका भाँडाकुँडा, हुड्को–ताउलो ११ थान, धार्नी, काँसका भाँडाकुँडा २० थान, अन्य सानातिना सामग्री करिब १ सय थान तथा लिउ, गलैँचा लगायतका लत्ताकपडा आवश्यकता अनुसार रहेका छन्।

आम्दानीको स्रोतका रूपमा तरकारी खेतीबाट वार्षिक करिब ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको र घरभाडाबाट मासिक ६५ हजार रुपैयाँ प्राप्त हुने गरेको नगर प्रमुख भामले जानकारी दिए। सोही आम्दानीका आधारमा घरायसी व्यवहार सञ्चालन हुँदै आएको उनको भनाइ छ।

कार्यक्रममा जेनजी समूह मुगुका जिल्ला संयोजक राजेन्द्र शाही, मुगु–काठमाडौं सम्पर्क समितिका संयोजक भुवन टमटा लगायतका वक्ताहरूले नगरमा भएका विकाससम्बन्धी अनियमितताप्रति ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिहरूले पारदर्शिता र जवाफदेहितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

नगर प्रमुख भामले सम्पत्ति विवरण सार्वजनिक गरेर सकारात्मक सन्देश दिएको भन्दै यस अभ्यासलाई सबै जनप्रतिनिधिले अनुसरण गर्नुपर्ने उनीहरूको भनाइ थियो।




सम्बन्धित समाचार


error: Content is protected !!