ठेक्काको समय सकिँदा पनि सुरु भएन नलगाड नदीको पुल

हेमन्त केसी
सुर्खेत ः सम्झौतामा निर्माण कार्य तोकिएको अन्तिम मिति पूरा भई पाँच महिना समय बढी भइक्दासम्म जाजरकोटको सिर्के–साँघुतरामा पुल निर्माण कार्य सुरु हुन सकेको छैन । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–साघुतराको बीचमा रहेको नलगाड नदीको पुल अलपत्र परेको हो । नेपाल मेघा सिस्ने जेभी नेपालगञ्जले उक्त पुल निर्माण गर्ने ठेक्का लिएको थियो ।

२०७८ साउन २९ गते पूर्वाधार विकास कार्यालय जाजरकोटमा उक्त जेभीले पुल निर्माण गर्ने भन्दै ठेक्काको सम्झौता गरेको थियो । सम्झौतामा पुलको निर्माण गरेर हस्तान्तरण गर्ने अन्तिम मिति २०८२ साउन २० गते रहेको थियो । ३ करोड ९ लाखमा पुल निर्माण गर्नका लागि सम्झौता भएको थियो । तत्कालिन जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंहले उक्त पुलको शिलान्यास गरेका थिए । शिलान्यास गरेदेखि हालसम्म पुल निर्माण स्थलमा निर्माण व्यवसायी नआएको स्थानीय बताउँछन् । पुल नहुँदा जीर्ण रहेको झोलुङगे पुलबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

योजना कार्यान्वयन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले समेत काम नहुने आयोजनाबारे निकास दिन नसक्दा काम अलपत्र परेको छ । सम्झौता मिति पूरा हुँदासम्म काम नै सुरु नभएपनि सरोकार राख्ने निकाय मौन रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । प्रदेश सरकारले यो पुललाई समस्याग्रस्त आयोजनाका रुपमा राख्नुबाहेक कुनै चासो देखाएको छैन । जेभीले काम नगर्नुको कारण पत्ता लगाई समस्या समाधान गर्नसामान्य कोठे बैठकबाहेक दबाबमुलक कुनै पनि काम गरेको देखिँदैन ।

पुल निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने मिति पूरा भई धेरै समय बित्दासम्म सम्बन्धित क्षेत्रका सरोकार राख्ने प्रदेशसभा सदस्यहरुले समेत यसतर्फ चासो नदेखाएको नलगाड नगरपालिका–५ का राजीव सिंहले बताए । यो पुलले जाजरकोट–जुम्ला सडकभित्र पर्नुका साथै नलगाड जलविद्युत आयोजनाको प्रस्तावित बाँधस्थल नजिकै रहेको छ । जलविद्युत आयोजना निर्माण स्थलमा जाने मुख्य पुलसमेत यसलाई लिइएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोट प्रमुख इन्जिनियर भुपेन्द्रप्रसाद जैसीसँग सम्पर्क हुन सकेन

यत्ता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले निर्माण व्यवसायीसँग छलफल गर्दा पनि निकास नआएको बताए । निर्माण व्यवसायले नै नटर्ने अवस्था आएपछि पुल निर्माणको काम कहिले सुरु हुन्छ त्यो सबै विषय निकै पर धकेलिएको छ । प्रदेश सरकारको मातहतमा रहेको यो मोटरेबल पुल दुई पालिका जोड्ने मात्र नभई नलगाड जलविद्युत आयोजनाका लागिसमेत सहयोगी रहेको छ ।

जिल्लामा अलपत्र परेको विकास निर्माणका विषयमा कुनै पनि राजनीतिक दलको बैठक, सभा तथा समारोहमा कुरा नउठने गरेको छ । यही भू–भागले हालसम्म दुई जना मन्त्री पाएपनि पुल निर्माणको काम अघि बढेको छैन । पुलको ठेक्का पछि आर्थिक मामिला तथा योजना मन्त्री सोही वडाका बेदराज सिंह, हालका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहलाई पाइसकेको छ । तर पुलका विषयमा कुनै पनि कुरा नउठाउँदा विकास निर्माणको काममा किन लापरवाही भएको भन्दै आलोचना हुँदै आएको छ ।

बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाले पुल निर्माणका लागि पटक–पटक दवाव दिएपनि त्यो कुराको सुनुवाइ भएको छैन । जिल्ला कार्यालय तथा प्रदेश सरकारलाई समेत जानकारी गराउँदा पनि सुनुवाई नभएको नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर रावतले बताए । निर्माण कार्य सुरु गर्ने भएमा समयमै गर्नुपर्ने, होइन भने ठेक्का तोडेर अर्को ठेक्का खोल्नुपर्ने भनेर आफूहरुले दवाव दिएपनि सुनुवाई नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयले काममा ध्यान नदिएर यस क्षेत्रका जनप्रतिनिधिले दैनिक गाली खानुपर्ने उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!