१५ वर्षसम्म भवन नगर्ने निर्माण कम्पनीको ठेक्का तोडियो

सुर्खेत ः जाजरकोट र सुर्खेतमा निर्माणधीन स्वास्थ्य संस्थाका भवनहरू डेढ दशकसम्म पनि सम्पन्न नगरी अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का अन्ततः तोडिएको छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतले सम्झौता भएको १४ देखि १५ वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नगर्ने ती निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो।

सरकारले पटक–पटक म्याद थपको अवसर दिँदा पनि काममा फर्कन नमानेपछि कार्यालयले श्री मैनाचुलीरसुरुची जेभी र श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रालि सँगको ठेक्का तोडेको छ। कार्यालयका अनुसार स्वास्थ्य संस्थाजस्तो संवेदनशील संरचना निर्माणमा निर्माण व्यवसायीले चरम लापरवाही गरेका छन्। सम्बन्धित पालिका, जनप्रतिनिधि र आम नागरिकले बारम्बार अनुरोध गर्दा तथा कार्यालयले लिखित ताकेता गर्दा समेत निर्माणस्थलमा व्यवसायी वा उनका प्रतिनिधि लामो समयदेखि अनुपस्थित रहँदै आएका थिए।

ठेक्का तोडिएका आयोजनाहरूमा जाजरकोटको सिमाराक्मास्थित प्रसुती कक्ष र सुर्खेतको गुटु हेल्थपोस्ट भवन रहेका छन्। यी दुवैको जिम्मा पाएको श्री मैनाचुलीरसुरुची जेभी सब कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन ले २०६७ सालमा सम्झौता गरेर १५ वर्षसम्म पनि काम सकेको थिएन। त्यस्तै, जाजरकोटको मजकोट बडकुलेमा स्वास्थ्य चौकी बनाउन २०६९ सालमा सम्झौता गरेको श्री फ्राइण्डस् कन्स्ट्रक्सन प्रालि ले पनि १४ वर्षसम्म भवन निर्माण सम्पन्न गर्न नसकेपछि कारबाहीमा परेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९९७० बमोजिम ठेक्का तोड्दै कार्यालयले अब निर्माण व्यवसायीहरूबाट सरकारी बाँकी सरह रकम असुल उपर गर्ने प्रक्रिया अघि बढाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!