कर्णालीबाट वैदेशिक रोजगारीमा जाने भन्दै एकै वर्षमा २८ हजारले लिए श्रम स्वीकृति

सुर्खेत /  कर्णालीका कैयन् नागरिकहरू मौसमी रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्छन् । गाउँमा खेती लगाउने, चाडपर्वमा फर्कने र भारतमा रोजगारी गर्ने ‘मुग्लानिया’ परम्परा कर्णालीको विगतदेखिकै हो । तर, पछिल्लो समय तेस्रो मुलुक जानेहरूको संख्यामा पनि वृद्धि हुँदै आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/ ८२ मा कर्णाली प्रदेशबाट नयाँ श्रम स्वीकृति लिई तथा पुनः श्रम स्वीकृति सहित वैदेशिक रोजगारीमा जानेको कुल संख्या २८ हजार ५८ पुगेको छ ।

यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.८७ प्रतिशतले बढी रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८१र८२ मा वैदेशिक रोजगारीका लागि प्रदान गरिएको कुल श्रम स्वीकृतिमध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको छ । यस अवधिमा नयाँ श्रम स्वीकृति लिई बिदेसिनेको संख्या २० हजार ८८६ रहेको छ, जुन त्यसअघिको वर्षको तुलनामा १६.०६ प्रतिशतले बढी हो ।

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिएर जाने गरेको पाइएको छ भने केहीले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरी स्वरोजगारमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लागत तथ्यांकअनुसार सल्यान जिल्लाबाट सबैभन्दा बढी ५ हजार २६१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति सहित कुल ७ हजार ५८७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी, सुर्खेतबाट ४ हजार ४८८ जना नयाँ र कुल ६ हजार ३८७ जना, तथा दैलेखबाट ३ हजार २२९ जना नयाँ र कुल ४ हजार २८८ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

रुकुम पश्चिमबाट नयाँ २ हजार ६७ र कुल २ हजार ८५९ जना, जाजरकोटबाट २ हजार ५४ नयाँ र कुल २ हजार ५१८ जना रहेका छन् । यस्तै, कालिकोटबाट ८४४ नयाँ र कुल १ हजार २५ र जुम्लाबाट १ हजार ४७ नयाँ र कुल १ हजार २५५ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यसैगरी, डोल्पा, मुगु र हुम्ला जस्ता हिमाली जिल्लाहरूबाट भने अन्य जिल्लाको तुलनामा कम संख्यामा वैदेशिक रोजगारीमा गएको प्रतिवेदनले देखाएको छ । डोल्पाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६०९ र कुल ६८८ रहेको छ भने मुगुबाट नयाँ ६१५ र कुल ६८६ जनाले श्रम स्वीकृति लिएका छन् । हुम्लाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६७२ र कुल ७६५ रहेको छ ।





error: Content is protected !!