मोवाइलमा नेटवर्क नहुँदा दैनिक रु २० तिरेर इन्टरनेटबाट आफन्तसँग कुरा गर्न बाध्य

जाजरकोट ः जाजरकोटको बारेकोट रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि दशैँको मुखैमा यहाँका स्थानीयबासीहरु समस्या परेका छन् । विदेश तथा घर देखि बाहिर रहेका आफन्तसँग कुरा गर्न नपाउदा समस्या भएको बारेकोट गाउँपालिका–५ पाखाका मोहनजंग शाहीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्वर ५ रतनकोटमा रहेको टावरमा हप्ता दिन अघि समस्या आएपनि मर्मत नहुँदा बारेकोट गाउँपालिकालिकाका स्थानीयबासीहरु समस्यामा रहेको उहाँले जानकारी दिनुभयो । निजी प्रदायक इन्टरनेट कम्पनीद्धारा सञ्चालनमा रहेको इन्टरनेट सेवाबाट आफन्तसँग कुरा गर्दा प्रतिव्यक्ति रु २० रुपैयाँ शुल्क तिरेर कुरा गरिरहेको शाहीले जानकारी दिनुभयो । नेपाल टेलिकम जाजरकोट शाखाका प्राविद्यिक प्रकाश उपाध्यायले दशै अघि मर्मतको लागि टिम पठाएको बताउनुभयो । तर उक्त टिमले रुकुम पश्चिमको गोतामकोटमा रहेको टावर मात्र मर्मत गरेर फर्किएको छ । बारेकोट गाउँपालिकाको वडा नम्वर १,२,३,४,५,६,७ मा फोन सेवा ठप्प भएको हो ।
केही स्थानीयबासीहरु गाउँ भन्दा तीन घण्टा माथी अग्लो डाडामा गएर रुकुम पश्चिमको राततामाटाको टावरको कभरेज भएको ठाउँमा गएर आफन्तसँग कुरा गरिरहेको अर्का स्थानीयबासी गणेश शाहीले बताउनुभयो ।



