दशैँ ,तिहारलाई लक्षित गरेर कर्णालीमा सुपथ मुल्य पसल सञ्चालन

सुर्खेत , ३० भदौ ः कर्णालीमा ४२ ठाउँमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । दशैँ तथा तिहारलाई मध्ये नजर गर्दै भदौ ३० गते देखि कात्तिक १० गते सम्मा सुपथ मुल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेशीक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए ।
कर्णालीमा हाल १५ डिपो रहेका छन् । त्यस्तै २८ वटा बिक्री केन्द्र रहेको प्रदेशीक कार्यालयका प्रमुख बुढाले बताए । ८ वटा शाखा र एक प्रदेशीक कार्यालय रहेको उनले बताए । सहुलियतमा विक्री वितरण हुने चामल ,चिनीमा प्रति केजी ५ रुपैयाँ छुट दिइएको छ । त्यस्तै तेलमा प्रति लिटर सात रुपैयाँ छुट दिइएको छ । हाल १८ स्थानबाट सोमबार देखि नै सहुलियत रुपमा खाद्यान्न विक्री , वितरणको कामहरु सुरु गरिएको छ । सोमबार डोल्पामा सदरमुकाम दुनै , जुफाल मुडकेचुलाको सर्मी , कालिकोट सदरमुकाम मान्मा , पादमघाट , खल्लागाड , जाजरकोटको सदरमुकाम , नायकवाडा , घोगीमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।
त्यस्तै मुगुको सदरमुकाम गमगढी , श्रीकोट र सोरुकोटमा आजै देखि सञ्चालनमा आएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट , हुम्लाको श्रीनगर ,सर्केगाडमा समेत सुरु भएको छ । जुम्लाको सदरमुकाम खलंगा , दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाममा समेत विक्रीको काम सुरु भएको छ । १८ ठाउँमा आज देखि सुरु भएको छ भने केही दिनमै अन्य २४ वटा स्थानीय तहमा सञ्चालनको तयारी थालिएको छ । स्थानीय तहसँगको खरिद विक्री केन्द्र स्थापनाको सम्झौता आधारमा सुपथ मुल्य पसल सञ्चालन ल्याउन थालिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल चामल १२ हजार क्वीन्टल , चिनी १२४ क्वीन्टल , २६ हजार लिटर तेल मौजदात रहेको छ । हाल अरुवा मोटा चामल , अरुवा मोटा एफ आर , अरुवा सोना मन्सुली , अरुवा मन्सुली एफ आर , स्टीम जिरा मसिनो , स्टीम जिरा मसिनो एफ आर , सुर्य मुखी तेल , सोयाविन तेल , तोरी तेल र चिनी विक्री भइरहेको छ । त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पोसिलो चामल समेत विक्री गर्र्दै आएको छ । सुगम मात्र सुपथ मुल्य पसल सञ्चालन गरेको भन्दै आलोचना खेप्दै आएको कम्पनीले अब स्थानीय तहमै सुपथ मुल्य पसल सञ्चालनको लागि काम सुरु गरेको छ ।
नयाँ बाली पाकि नसकेको र पुरानो सकिएको समयमा चाड , पबलाई लक्षित गरेर सुपथ मुल्य पसल सञ्चालन ल्याएसँगै सर्वसाधारण लागि सहयोगी हुने अपेक्षा लिइएको छ । पालिकाले जिम्मेवारी लिएर अन्य पालिकामा पनि विस्तार गर्न सकिने प्रदेश कार्यालयको भनाई रहेको छ । कर्णाली करिडोर तथा भेरी करिडोरमा सडक पटक पटक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या भइरहदा कम्पनीले गाउँ , गाउँमा सञ्चालन गर्न थालेको सुपथ मुल्य पसलले जनसाधारणका लागि राहतको महसुस गर्ने भरोसा लिएको छ । आज मात्र हिमाली जिल्लाहरुमा खाद्यान्न खरिदका लागि धेरै स्थानीयबासीहरु आएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।



