जब कार्यक्रमको बिचमै कांग्रेस नेता शाही उठेर हिँडे , कार्यक्रम किन भयो स्थगित ?

सुर्खेत ः कर्णालीमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सम्बन्ध सुमधुर हुन नसकेको देखिन्छ । बिहीबार सरकारको नेतृत्व गरिरहेको एमालेले साझेदार दल कांग्रेसको भूमिका संयुक्त सरकार (गठबन्धन)को संस्कृति अनुरूप नभएको निष्कर्ष निकालेको थियो ।
त्यसैको सेरोफेरोमा रहेर शुक्रबार एक कार्यक्रम प्रभावित बनेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक कार्यक्रम बिचमै स्थगित हुन पुगेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रम सत्तारुढ दुई दलहरूबिचको विवादका कारण स्थगित भएको प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरूले बताएका छन् । सभामुख, सबै दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा सुरु हुन लागेको कार्यक्रम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही उठेर हिँडेपछि स्थगित नै भयो ।
कतिपयले बिहीबार एमालेले कांग्रेसको भूमिकामाथि प्रश्न उठाएपछि कांग्रेस रिसाएको र त्यसैको बाछिटा आजको कार्यक्रमका परेको दाबी गरेका छन् । एमालेनिकट एक मन्त्रीले भने कांग्रेस दल नेता शाहीलाई विशेष अतिथि नबनाएको रिसमा उठेर हिँडेको दाबी गरे ।
‘उहाँलाई विशेष अतिथि नबनाएको झोकमा उठेर हिँड्नु भएको हो,’ ती मन्त्रीले भने । कार्यक्रम आयोजक अर्थ मन्त्रालयका प्रवक्ता महेन्द्रजंग शाहीले अतिथि भन्दा पनि उहाँहरू (कांग्रेस—एमाले) बिच केही समस्या भएर कांग्रेस दल नेता निस्किएको हुन सक्ने बताए ।
उनले ‘प्रोटोकल’ को विषयले समस्या नभएको बताए । ‘के कारणले उहाँहरू निस्कनुभयो, त्यसको पुष्टि चाहिँ अब उहाँहरूले गर्नुहोला,’ उनले भने, ‘कार्यक्रम सुरु हुनुभन्दा नै अघिका कुरा हुन् उहाँहरूका ।’ अर्कातर्फ आयोजक रहेको अर्थ मन्त्रालय कांग्रेसकै राजीवविक्रम शाहले नेतृत्व गरिरहेका छन् ।
‘खास विवादको चुरो कुरो के हो कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँग यही विषयमा छोटो कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको अंश ः
कांग्रेस , एमालेबिच लफडा हुँदा आज बिहानको कार्यक्रम नै स्थगित भयो भन्ने छ, खास कुरा के हो ?
—त्यस्तो लफडा केही भएको होइन के भयो र ?
विवादका कारण कार्यक्रम बिचमै स्थगित भयो भन्ने छ नि ?
— त्यसो होइन, हाम्रो जुन उद्देश्य थियो, अहिलेको यो कार्यविधिहरूलाई संशोधन गर्ने भन्ने थियो । हाम्रो बुझाइ कार्यविधि संशोधन गरेपछि (तत्कालै) लागू हुन्छ भन्ने थियो । यो समपूरक, विशेष र सशर्त अनुदानको कार्यविधिबारे थियो ।तर यहाँ ‘यो पटक त भइहाल्यो, यो त अर्को वर्षको लागि हो भनेर भनियो । अर्को वर्षको लागि हो भनेपछि त अर्को वर्षको लागि अहिले कार्यविधि संशोधन गरिरहनु त केही परेन नि त ? कार्यविधि त सालबसाली हुन्छ, अर्को वर्ष त अर्कै होला । यो ऐन होइन क्यारे । त्यसैले अर्को वर्षको लागि हो भने यस विषयमा छलफल गरिरहनुपर्ने कुनै आवश्यकता भएन भनेर हामी उठेर हिँडेको हो, लफडा नै भएको होइन ।
तपाईं उठेर हिँडेपछि कार्यक्रम सुरु हुन सकेन नि ?
—हामीले के भन्यौँ भने यो जबरजस्ती भयो । जस्तै अस्ति हामीले योजना आयोगको कार्यविधि संशोधन गर्यौँ । त्यो गर्दाखेरि यही साउनबाट नै दरखास्त दिन पाउने भन्ने भएर त्यसको काम भयो । अब यो कार्यविधि (संशोधन) अर्को वर्षका लागि हो, अहिले लागू हुँदैन भने त त्यसै सुनेर के गर्ने ? सालबसाली परिवर्तन हुने कुरामा अहिले छलफलको उपादेयता छैन भनेको हो । त्यति मात्रै हो । अरू लफडा केही होइन ।
कार्यक्रमस्थलमा कतिपयले तपाईँलाई विशेष अतिथि नबनाएकाले तपाईं निस्किनुभएको भन्ने छ, यो सत्य हो ?
—होइन, त्यो मर्यादाक्रमको कुरोचाहिँ मैले राखेकै हो । प्रोटोकलको कुरा आफ्नो ठाउँमा छँदैछ । तर त्यो नमिलेर म निस्केको होइन । त्यो नमिलेर निस्किने भए त म पहिले नै निस्किन्थेँ होला नि ? जब प्रिजेन्टेसन सुरु भयो, मैले अतिथिको कुरामा यति चाहिँ भनेँ—अन्य अतिथिसरह एउटा सत्ता साझेदार दलको नेता त नहोला नि ? मैले आफ्नो गुनासो राखेँ, तर त्यो भनेर म उठेको होइन ।
म उठेको कारण यो कार्यविधि आज संशोधन गरिसकेपछि यही वर्ष लागू हुने हो कि के हो भनेर सोध्दा मुख्यमन्त्रीज्यूले ‘होइन, यो वर्ष त गइसक्यो, यो त अर्को वर्षको लागि हो’ भन्नुभयो ।
त्यसो भए सालबसाली कार्यविधि त अर्को साल बजेट आउनुअगाडि गरौँला नि ? त्यसैले अहिले यसको लागि बसेर छलफल गर्नुपर्ने विषय केही रहेन भनेर म उठेको हुँ । मैले मर्यादाक्रमको कुरो उठाएको हुँ तर त्यसैले हिँडेको होइन ।
हिजो एमालेले ‘गठबन्धनको संस्कृतिअनुरूप कांग्रेसको भूमिका भएन’ भन्ने खालको टिप्पणी गरेको थियो, त्यसको असर त होइन ?
—त्यो कुरा हामीले पनि सुन्यौँ । एमालेलाई हामीले सोध्न बाँकी नै छ । व्यक्ति–व्यक्तिले आफ्नो कुरा निकाल्न पाउने उनीहरूको अधिकारको कुरा हो । यदि दलको निर्णय नै त्यस्तो भएको हो भने सोच्नुपर्ने होला, तर त्यो मैले सोध्न पाएको छैन । त्यो कारणले आज म निस्केको होइन ।
तपाईं उठेर हिँडेकाले सबै उपस्थित भएको कार्यक्रम नै स्थगित भयो, यसलाई सत्तारुढ दलबिच आएको दरार वा समस्या नै हो भनेर बुझ्न सकिन्छ ?
—त्यो समस्या नै हो भन्नुभन्दा पनि समन्वयको अभाव चाहिँ हो ।
दुई दलबिचमा सम्बन्ध राम्रो नभएको कुरा सतहमा आएको छ । यसले गठबन्धनमै समस्या त निम्त्याउँदैन ?
—अहिले त्यस्तो केही छैन । अब समन्वय गर्ने भनेको जो ‘फर्स्ट म्यान’ (मुख्यमन्त्री) हो, उहाँले गर्नुपर्ने होला । हामी त सङ्ख्यामा ठुलो पार्टी हो नि त । हाम्रो १५ जना छन्, उहाँहरूको १० (सभामुखसहित) जना छन् । हामीले समन्वय नगरेको भए कसरी चल्थ्यो होला र ? तर सरकारको प्रमुखले जहिले पनि समन्वय गर्ने, समस्या समाधान गर्ने काम गर्नुपर्छ । दल केही पनि होइन भनेजस्तो गर्नुभएन । दलीय व्यवस्थामा त दलै होला नि त, होइन र ?
आजको घटना धेरै ठुलो कुराले होइन, अलि समन्वय भएन । नभएपछि, तत्काल उपादेयता नभएको विषयमा दिनभरि बसेर समय खर्च गर्नु परेन भन्ने हो ।
रातोपाटीमा पंख शाहीले गरेको कुराकानीको सार



