विदेशी पर्यटकको गन्तव्य बन्दै कर्णाली

कर्णाली प्रदेशमा ६ महिनाको अवधिमा ५ लाख पर्यटक भित्रिएका छन् । नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अध्ययन प्रतिवेदनले विगतको तुलनामा कर्णालीमा पर्यटकको आवागमन ११ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार आव २०८१/०८२ को साउनदेखि पुस महिना अर्थात् ६ महिनाको अवधिमा पाँच लाख ७९ हजार ९ सय ४३ पर्यटक कर्णाली भित्रिएका छन् । कर्णाली प्रदेशस्थित नमुना छनोटमा परेका होटलहरूबाट प्राप्त तथ्यांकका आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक सार्वजनिक गरेको हो । यसमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा कर्णाली प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आव २०८०/०८१ को यही अवधिमा ८ दशमलव ६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्या आव २०८१/०८२ को साउनदेखि पुस महिनाको अवधिमा १२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आव २०८०/०८१ मा १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा तीन दशमलव ६९ प्रतिशतले बृृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकहरूको संख्या १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा भने २२ प्रतिशतले तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या घटेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य कर्णाली बन्दै गएको भए पनि उनीहरूलाई आकर्षित गरी औसत बसाइ दरलाई बढाउन भने चुनौती देखिन्छ ।
पर्यटन व्यवसायको प्रचुर सम्भावना भएको कर्णालीमा सहज रूपमा हवाई तथा सडक यातायात, पर्यटकस्तरीय होटल तथा होमस्टेलगायत मनोरञ्जनात्मक क्रियाकलापहरूको उपयुक्त व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी औसत बसाइ दर बढाउन चुनौतीपूर्ण भएको राष्ट्र बैंकको ठहर छ ।
यस्तै, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको कर्णालीमा उच्च प्राथमिकताका साथ संघीय एवं प्रादेशिकस्तरका नीति तथा कार्यविधिमार्फत सम्बोधन गरिनुले पर्यटकीय पूर्वाधारहरूको तीव्रतर विकास गरी समग्र कर्णालीवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने सम्भावना उच्च रहेको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले ठहर छ । रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, पचाल झरना, बुलबुले ताल, काँक्रेविहार, सिँजा सभ्यता र पञ्चकोशीलगायतका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेका पर्यटकीय क्षेत्रहरू जोड्ने पर्यटन पूर्वाधारहरूको विकास र विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उच्च सम्भावना रहेको राष्ट्र बैंकले औँल्याएको छ ।
यस्तै, समीक्षा अवधिमा कर्णाली प्रदेशका होटलहरूको बेड संख्यामा कुनै परिवर्तन भएको छैन । समीक्षा अवधिमा प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १० दशमलव ३० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ३ दशमलव ७७ प्रतिशतले वृद्धि भएको जनाइएको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका अनुसार पर्यटकस्तरीय होटल तथा होमस्टे व्यवसायको विकास गर्दै पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्तिको विकासमार्फत पर्यटन क्षेत्रको योगदान बढाउन सकिने आधार प्रशस्त छन् ।
पर्यटन विकासमा के गर्दै छ प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले यहाँको पर्यटन प्रवर्द्धन र विकासलाई मुख्य प्राथमिकतामा राखेको दाबी गर्दै आएको छ, जसअन्तर्गत प्रदेश सरकारले कर्णालीको पर्यटन प्रवर्द्धन र विकासमा काम गर्न छुट्टै पर्यटन प्रवर्द्धन विकास समिति नै स्थापना गरेको छ ।
गत वैशाखमा स्थापना भएको उक्त समितिले पूर्णता पाउनासाथ पर्यटन प्रवर्द्धन तथा विकासका कामहरू योजनाबद्ध अघि बढाउने प्रदेश सरकारको तयारी छ । पर्यटन प्रवर्द्धन विकास समितिका सदस्य भानुभक्त खड्काले कार्यकारी निर्देशक नियुक्तिपछि प्रदेश सरकारको योजनाबमोजिम पहिलो चरणमा पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि तालिमलाई प्राथमिकता दिइने बताए ।
त्यसपश्चात् कर्णालीका पर्यटकीय गन्तव्यको खोजी गरी कुन पर्यटकलाई कहाँ लाने भन्ने विषयमा अध्ययन गरी सोहीबमोजिम प्रचार–प्रसारको कार्यलाई व्यापक बनाइने उनले बताए । उनका अनुसार पहिचान भएका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि सबै जिल्लालाई जोड्न पर्यटन सर्किटको अवधारणमा काम गरिनेछ । उनका अनुसार प्रदेश सरकारले चालु आव २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवर्द्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ ।
चालु आवको नीति, कार्यक्रम तथा बजेटमा यो विषयलाई समावेश गरेको प्रदेश सरकारले पर्यटकको संख्या, बसाइ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजीक्षेत्रसमेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने सरकारको योजनाबमोजिम अघि बढ्ने खड्काले बताए ।
उनका अनुसार सरकारी तथा निजीक्षेत्रको अगुवाइमा प्रदेशभित्र बन्जिजम्प, र्याफ्टिङ, प्याराग्लाइडिङ, अफरोड कार र्याली, अफरोड बाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ, हाइकिङ, ट्रेकिङ, खेलकुद तथा आरोग्य पर्यटनलगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पुर्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरिनेछ ।
नेपालकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेका मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै, पर्यटकीय क्षेत्रको विकासमा पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्नेदेखि पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवालगायतका विषयमा जानकारी प्रदान गर्न गन्तव्य कर्णाली एप निर्माण गरी सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ । प्रदेशभित्रको हवाई सेवालाई नियमित, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्रका विमानस्थलमा नियमित उडान गर्ने हवाई सेवा प्रदायकलाई आवश्यक सहयोग र सहुलियतको व्यवस्था मिलाइएको प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ ।
यस्तै, कर्णाली प्रदेशका प्रमुख पर्यटन सम्पदाका बारेमा जानकारीमूलक पर्यटक गाइड बुक तयार पारिनुका साथै पर्यटकलाई निर्भयका साथ घुमफिर गर्ने वातावरण निर्माण गर्न पर्यटकको सुरक्षा र अप्ठ्यारो परिस्थितिमा तत्काल सहयोग गर्ने संयत्रको विकास गर्न लागिएको छ । चालु आवमा कर्णालीको समग्र पर्यटन प्रवर्द्धन तथा विकासमा प्रदेश सरकारले ४३ करोड बजेट व्यवस्थापन गरेको छ ।
शिलापत्रका लागि ओम शाही









