कुलिङ पिरियडको गडबडी समितिले महासचिव पाण्डेसँग लियो बयान

काठमाडौँ ।  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग बयान लिएको छ । मंगलबार समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा महासचिव पाण्डेसँग बयान लिएको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियार सभापतित्वको समितिले आफूसँग सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको गल्तीबारे सोधपुछ गरेको महासचिव पाण्डेले जानकारी दिए । ‘कुलिङ अफ पिरियड’मा भएको गल्ती कसरी भयो भन्नेबारेमा म सँग समितिले सोधपुछ गरेको छ, महासचिव पाण्डेले रातोपाटीसँग भने, ‘मैले यो ‘ह्युमन इरर’ हो । सांसदहरूले पनि ध्यान पुर्‍याउनुपर्थ्यो । कर्मचारीहरूले पनि ध्यान पुर्‍याउनु पर्थ्यो । कसैको ध्यान पुगेन भने ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कूटनीतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो । यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिए पनि पास हुँदा छेडखानी भएको थियो ।

तर, २ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निष्क्रिय बनाउने भाषा समेत विधेयकको प्रतिवेदनमा सँगै परेको थियो ।





error: Content is protected !!