कर्णालीमा लुतो फाल्ने’ पर्व बनाइँदै

सुर्खेत / कर्णालीमा आज अर्थात साउने संक्रान्तिसँगै ‘लुतो फाल्ने’ पर्व समेत मनाउने गरिएको छ । खेतीकिसानीमा आधारित ग्रामीण समाजका लागि यो विशेष दिन हो । यस दिनलाई कर्णालीमा विशेष प्राथमिकताका साथ मनाइन्छ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पति र सल्लीको दियालो संकलन गर्ने गरिन्छ । आफन्त बोलाउने, सरसमानको जोहो गर्ने, कपडालाई खरानीको भानमा पकाएर धुने प्रचलन कर्णालीमा रहेको जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताउनुभयो । साउन १ गते साँझ मात्रै लुतो फाल्ने कार्य सुरु गरिन्छ । घरमा मिठोमसिनो पकाउने, घरको आँगनमा बेलुकी आगोको राँको बालिन्छ ।
लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यसक्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्ताले छोडदै गएका छन् । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, दमाहा बजाउने र एकछिन घरको ढोका बन्द गर्ने चलन बिस्तारै हराउँदै गएको छ । यसरी लुतो फाल्दा समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसंगति सकिएर जाने विश्वास छ । राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने संक्रान्ति मनाउने गरिन्छ ।
अधिकांश कर्णालीबासी खेती किसानी गर्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । असारमा गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउन भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
साउने संक्रान्तिकै दिन लुतो फालेर रातमा हात खुट्टामा तिउरी लगाउने चलन कर्णाली पहाडी भेगमा अहिले पनि छ । यस्तो चलन अहिले मात्र हैन, धेरै लामो समयदेखि चल्दै आएको थियो । हातलाई तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता छ । सौन्दर्य साधनको रूपमा प्रयोग हुने तिउरी फूल घाउमा लगाउँदा औषधिको रुपमा पनि प्रयोग गरिन्छ । असारमा खेतबारीमा काम गर्दा हिलोले खाएका हातखुट्टामा तिउरीको रस लगाउँदा निको हुने मान्यता छ ।
माघे संक्रान्तिमा महिलाले हरियो, पोते, मेहेन्दी, तिउरी, चुरा लगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । कर्णालीमा साउने संक्रान्तिसँगै जोडिएको छ, देउडा पर्व । आजको दिनलाई सांस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिनका रुपमा पनि लिइन्छ । यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुम्ली एकता सेवा समाज सुर्खेत प्रत्येक वर्ष देउडाको आयोजना गर्दै आएको छ ।
जुम्ला खलंगालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर साउने संक्रान्ति मनाइँदै छ । कर्णालीको हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटमा पनि कतै पुरुष–पुरुष त कतै महिला पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिक रुपमा विभिन्न हाउभाउ देखाएर देउडा खेल्ने गर्छन् ।










