राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा कर्णाली प्रदेशका आधा दर्जन विषयहरु माथि छलफल

सुर्खेत / प्रधानमन्त्री के पी शर्मा वलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक कर्णाली प्रदेशका आधा दर्जन विषयहरु माथि छलफल भएको छ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिएको जानकारी अनुसार कर्णाली प्रदेशका महत्वपूर्ण विकास योजनाहरूमा संघीय सरकारको लगानी बढाउने विषयमा छलफल भएको छ । भेरी करिडोरलाई राष्ट्यि गौरबको आयोजनामा समावेश गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश र स्थानीय तहले निर्माण गर्ने पूर्वाधारमा जग्गा मुआव्जा समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । वन क्षेत्रको उपयोग र वन विकास कोषमा रकम जम्मा गर्ने विषयमा प्रदेश र स्थानीय तहले भोग्नु परेको समस्याका विषयमा समेत राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा छलफल भएको छ । सार्वजनिक खरिद ऐनलाई प्रदेश र स्थानीय तह अनुकुल बनाउने विषयमा छलफल भएको छ ।
त्यस्तै सुक्रबार बसेको उक्त बैठकमा साझा अधिकारका कानून निर्माणमा संघीय सरकारबाट भएको ढिलाइका कारण प्रदेशमा परेको प्रभावको विषयमा छलफल भयो । कर्णालीको भविश्यसँग जोडिएको कर्णाली प्रदेशमा १३२ केभिए प्रसारण लाइन निर्माण भएको अवरोध र हुम्लाको हिल्सामा क्वारेन्टाइन निर्माणका विषयमा समेत घनिभुत छलफल भएको छ ।
भेरी बबई ड्राइभर्सन लगायत राष्टिय गौरबको आयोजनामा भइरहेको ढिलाई तथा मध्यपहाडी राजमार्गको जाजरकोट–चौरजहारी खण्डको पुल निर्माणमा भएको ढिलासुस्तीका विषयमा जोडदार रुपमा कुरा उठाएको छ । कर्णालीका नदिबाट उत्पादन हुने जलविधुत आयोजनाको लाइसेन्स लिने तर उत्पादन नगर्ने प्रबृति अन्त्य विषयमा समेत छलफल भएको छ ।










