चट्याङ लागेर एक जनाको मृत्यु

सुर्खेत ः खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
चट्याङ लागेर घाइते हुनेहरूमा सोही स्थानका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।



