मध्यपहाडी राजमार्गमा जाजरकोटको मन्ताभीर , भेरी किन बन्दैछ अलपत्र ?

  काठमाडौँ ः मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोटमा पर्ने ८५ किलोमिटर सडक भित्र यातायातका साधनहरु चल्ने अवस्था छैन । जाजरकोटको छेडागाड नगरपालिका भित्र पर्ने मन्ता भीर र भेरी नगरपालिका–१३ दारेगौरा स्थित भेरी नदीको पुल अलपत्र परेपनि काम अगाडी बढन सकेको छैन । यो सडक र पुल निर्माण नहुँदा जाजरकोट देखि रुकुम पश्चिम जोडिन सकेको छैन । यातायातका साधनहरु वारपार गर्नका लागि ६० किलोमिटर यात्रा गरेर रिम्ना हुँदै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जानुपर्ने बाध्यता रहेको छ । जाजरकोट खण्डबाट दैलेख जानका लागि मन्ताभीरको अवरोधका कारण भेरी करिडोरको यात्रा गरेर शिवालय गाउँपालिका –१ हुदै छेडागाड नगरपालिकाको थलहबजार पुग्नुपर्ने बाध्यता रहेको छ । यसै विषयमा बुधबारको संसदीय समितिको बैठकमा सांसदहरूले सरकारसँग जवाफ मागेका छन् ।


बुधबार बसेको पूर्वाधार विकास समिति बैठकमा सांसदहरूले ‘काम शून्य, कुरा मात्रै भएको’ भन्दै आक्रोश पोख्दै सरकार गम्भिर नभएको आरोप लगाएका छन् । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सांसद शक्तिबहादुर बस्नेतले मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरीको पुल दशकौँदेखि नबनेकोबारे सरकारसमक्ष पटक ,पटक प्रतिनिधिसभामा कुरा राख्दै आएका थिए । जतीपटक कुरा उठाएपनि सरकारले त्यो कुरालाई कानमा तेल हालेझैँ गरेर सुनेर पनि नसुनेझैँ गर्दै आएको छ । पूर्वमन्त्री बस्नेतले भने , ‘ १२ वर्ष देखि एउटै कुरामा बहस गरेपनि सरकारी टोलिले किन समिस्या देख्दैन । समस्या भएको ठाउँमा समाधान खोज्नुको ठाउँमा चुप लागेर बस्दा जनताका समस्या जहाँका त्यही रहेको अवस्था छ । तीन वर्षमा सक्ने योजना १२ वर्ष सम्मा किन पुरा हुँदैन । समस्या छिटो हल गर्नुपर्दैन । ’ उनले समस्याको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्री र सचिवसहितको उच्चस्तरीय पहल आवश्यक रहेको र आवश्यक परे संसदीय समिति नै स्थलगत अनुगमनमा जानुपर्ने अवस्था आएको उनले बताए । उसो त प्रधानमन्त्री केपी शर्मा वली मध्यपहाडी लोकमार्गको जागरण अभियानमा जादा समेत मन्ताभीर छलेर यात्रा गरेका थिए । उनले मध्यपहाडी भन्दै आधाबाटो मध्यपहाडी हुँदै भेरी करिडोर यात्रा गरेर मध्यपहाडीको यात्रा गरेको भनिएको थियो । त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत मन्ताभीरलाई छलेर मध्यपहाडीको यात्रा गरेका थिए । यस्तै पूर्वाधार विकास समितिको बैठकमा सांसद ठाकुर गैरेले पनि दशकौँदेखिको पुलको निर्माण सम्पन्न नहुनु राज्यको कमजोरी भएको बताए । सांसद माधव सापकोटाले सार्वजनिक खरिद ऐनजस्ता कानुनी प्रावधानहरू विकास निर्माणका लागि मुख्य बाधक बनेको बताए । उनले ठेकेदारहरू अदालतमा जाने र काम रोकिने प्रवृत्तिका कारण देशभरका आयोजनामा जटिलता थपिएको तर्क गरे ।


मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड निर्माणका लागि २०७६ माघ २८ गते शर्मा सिंह एण्ड ब्रोदर्स जेभीसँग २०७९ साउन २७ गते निर्मार्ण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । यो सडक खण्ड कुल ८५ किलोमिटर छ । यो भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुंगिन्छ । कुल सडकमध्ये ५५ किलोमिटरको कालोपत्र भइसकेको छ । बाँकी ३० किलोमिटर सडक चार वटा खण्डमा ठेक्का लगाएर काम भएको छ । यो चारवटै ठेक्का शर्मा सिंह एण्ड ब्रोदर्स जेभीलले संयुक्त रूपमा लिएको छ । त्यसमध्ये कुदुदेखि थलहमा सम्मको भागमा शर्मा सिंह एण्ड ब्रोदर्स जेभीले ठेक्का लिएको हो । पुरानो डिजाइनअनुसारको काम भएकाले समस्या देखिएको छ । ग्रेड हाई हुँदा गाडी जान सक्ने अवस्था नभएपछि त्यसको अहिले ’एलाइनमेन्ट’सहित चेन्ज गरेर अर्को ठाउँबाट लगिएको मध्यपहाडी राजमार्ग आयोजना निर्देशक रविन्द्रलाल दास बताउँछन् । यि ठाउँमा काम गर्नका लागि प्राविद्यिक कुरा मिलाइरहेको दासको भनाई रहेको छ । मन्ता भीर आसपासको क्षेत्रको काम पुरै बाँकी रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी भेरी नदीमा पुल (स्ट्रील ट्रस्ट ब्रिज निर्माणका लागि २०६९ असार २९ गते वाईपी कन्सट्रक्सन प्रालिसँग सम्झोता गरेको थियो । २०७२ असार २८ गते निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेको यो पुल भ्याटबाहेक १३ करोड १३ लाख ५२ हजार ११४.५० रुपैयाँ लागतमा निर्माण गर्नुपर्ने सम्झौता थियो ।
पछि लागत संशोधन गरेर १३ करोड १३ लाख ४८ हजार ७४७ पु¥याएको छ ।

यो पुल निर्माणले गति लिन नसक्दा ५ पटक म्याद थप गरियो । त्यसपछि २०८० असार ३१ गते ठेक्का तोडेको थियो । त्यसपछि ठेक्का आह्वान गरियो । दुई पटक ठेक्का आह्वान गर्दासम्म ठेक्का लाग्न नसकेको आयोजनाले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जाजरकोट खण्डमा रहेको १ हजार ४ सय मिटर लामो मन्ताभिरको चट्टानी पहरोले ट्रयाक खोल्न बाधा पु¥याएको छ। २०७६/७७ मा ठेक्का लागेको सडक निर्माण गर्दा समस्या देखिएका कारण समस्या भएको छ ।

यसैगरी, सडक विभागका महानिर्देशक विजय जैसीले पनि मन्ताभिरमा ब्लास्टिङ गर्नुपर्ने प्राविधिक चुनौती रहेको स्वीकार्दै एक महिनाभित्रै सचिवसहितको टोलीले स्थलगत भ्रमण गरी समाधान निकाल्ने प्रतिबद्धता जनाए । राजमार्गअन्तर्गतकै भेरी नदी पुल निर्माणमा पनि गम्भीर ढिलाइ भएको छ। सचिव शर्माले २०६९ असारमा सम्झौता भएको पुल निर्माणमा भएको ढिलाइ बताए । अब सार्वजनिक खरिद ऐनअनुसार बजार मूल्यलाई ध्यानमा राखेर लागत अनुमानलाई संशोधन गरिएको र छिट्टै नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको शर्माले जानकारी दिए । समितिले भेरी नदीमाथि निर्माणका टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोजेर आर्थिक वर्ष २०८२÷८३ भित्र उक्त पुल निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिने अर्को निर्णय गरेको छ ।

पूर्वाधार विकास समितिका सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भने , ‘ मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड र भेरी नदिको पूल लगायत विषयमा ,सचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महानिर्देशक सडक विभाग र आयोजनाको प्रमुख सहितको उपस्थितिमा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठक आज सिंहदरवारमा छलफल भयो ।’ उनले थपे ,‘ सिंहदरबारमा बुधबार बसेको समिति बैठकले,उक्त सडक खण्डको भौतिक प्रगति नगण्य मात्रामा रहेको र हालसम्म पनि ट्र्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्न र भेरी नदिको पूल निर्माण कार्य छिटो सम्पन्न गर्न,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । ’





error: Content is protected !!