सई माथि कुटपिट गरेपछि डोल्पा हाजिर भएको नौ दिनमै हेडक्वाटर तानिए डिएसपी केसी

रामचन्द्र न्यौपाने,
डोल्पा ः जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै डिएसपी डा हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् ।
यस अघि नक्सालमै कार्यरत डिएसपी केसी डोल्पाको जिम्मेवारी पाएपछि १५ बैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए ।
हाजिर भएको आठ दिनमै मुद्धा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) शैलेन्द्र कुमार रसाइली सँग बिवाद भएपछि उनलाई हेडक्वाटर तानिएको हो ।
डिएसपी केसीले एक्कासी बोलाएर रिसाउँदै अश्लिल शब्द प्रयोग गरि हात र लात्तीले कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीले बताए ।
प्रहरी हेडक्वाटरले घटना थाहा पाएको भोलि पल्टनै डिएसपी केसीलाई हेडक्वाटर तानेको थियो ।
उनले जहाजबाट काठमाण्डौ जाने तयारी गरेपनि जुफाल विमानस्थलमा मौसमका कारण एयरर्पोटमा कुनै पनि पनि उडान नभएपछि सार्वजानिक बसबाट काठमाण्डौ बताइएको छ ।
घटनाको बिषयमा छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डिएसपी नारायण डाँगीको टोली बिहिवार बिहानै डोल्पा पुगेर छानविन सुरु गरेको बताइएको छ ।
यस बिषयमा सइ रसाइलीसँग बुझ्दा फोन उठाए पनि प्रतिक्रिया दिन भने मानेनन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी शिवकुमार श्रेष्ठसँग घटनाको बारेमा बुझ्दा आफुकहाँ जानकारी प्राप्त भएपनि बास्ताविकता के हो बुझ्ने काम भइरहेको बताए ।



