कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण


सुर्खेत १३ माघः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्ग र आसपासमा रहेको ९ र १२ नम्बर वडामा रहेको घना बस्तीले भरिएको क्षेत्र । तस्बिरः सुरेश आचार्य÷रासस
सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी गोमा भट्टराईको घरमा धारा जडान छ तर पानी आउँदैन । पिउने पानीका लागि उनी दैनिक ६० रुपैयाँ प्रति‘जार’ तिरेर किन्छिन् ।
‘धारा त जडान भयो तर पानी आउनेरनआउने कुनै ठेगान हुँदैन,’ गोमाले भनिन्, ‘कुनै समय त हप्तौँसम्म पनि धाराबाट पानी आउँदैन ।’ अचेल त धारा हेर्नै छाडेको उनले सुनाइन् । हिउँद लागेसँगै धारामा खासै पानी आउँदैन ।
गोमाको घरमा दुई परिवार भाडामा बस्छन् । धारामा पानी नआउँदा उनीहरू कहिले बजारबाट बोतलको पानी किनेर पिउँछन्, कहिले इनारको । कोठा भाडामा बस्दै आएका निराजन थापा भन्छन्, ‘इनारको पानी सफा हुँदैन । पिउँदा निकै गन्ध आउँछ, के गर्ने १ त्यही पनि पिउनै पर्यो । धारामा त पानी नै आउँदैन ।’
वीरेन्द्रनगर नगरपालिका–१, का हरेन्द्र शाहीको घरमा इनार पनि छैन । धारामा कुनै हप्ता पानी नै आउँदैन, आएको बेलामा पनि निकै कम हुन्छ । जसका कारण पानी किनेर खानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
‘गर्मी बढेसँगै पानीको आवश्यकता पनि बढ्ने गर्छ तर वीरेन्द्रनगरमा त गर्मी बढेपछि धारामा पानी आउन छाड्छ,’ उनले भने, ‘यो समस्या अहिलेको होइन, हामी यहाँ आएदेखि नै यस्तै हो ।’
पर्याप्त खानेपानीको अभाव, अनियमित विद्युतका कारण गर्मी समयमा वीरेन्द्रनगरको बसाइ कष्टकर हुने गरेको शाहीले बताए ।
प्रदेश राजधानीमै नागरिकको आधारभूत आवश्यकतामा पर्ने खानेपानीको सहज आपूर्ति नहुँदा उपभोक्ता दिक्क छन् । गर्मी समय लागेसँगै राजधानीमा खानेपानीको सङ्कट बढेको छ ।
गर्मी याम सुरु भएसँगै खानेपानीका मुहानमा पानीको स्रोत कम हुँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले त्यसलाई मध्यनजर गर्दै खानेपानीको वितरण प्रणालीमा नयाँ कार्यतालिका लागु गरेको छ । जारी सूचना अनुसार अब वीरेन्द्रनगरमा ९६ घण्टाको फरकमा खानेपानी वितरण गरिने छ । यो भनेको चार दिनको फरकमा हो ।
कतिपय धारामा हप्ता बित्दा पनि पानी नआउने गुनासो उपभोक्ताहरूले गर्दै आएका छन् ।
संस्थाका अनुसार सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा सहज रूपमा खानेपानी आपूर्ति गर्न हाल दैनिक ३८८ लिटर प्रतिसेकेण्ड खानेपानी आवश्यक पर्छ । यो धारा जडान भएका घरधुरीका लागिमात्र हो । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रतिसेकेण्ड गरी जम्मा १५८ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध हुँदै आएको छ, जुन आवश्यकताभन्दा २३० लिटर प्रतिसेकेन्ड कम हो ।
अझ गर्मी बढेसँगै प्रत्येक खानेपानीका मुहानमा पानीको स्रोतमा कमी आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर बहादुर गौतमले बताए । उनका अनुसार अहिले खडेरीका कारण खानेपानीका स्रोतमा कमी आएको छ । झुप्रा खोलामा ५०, खरिखोला बोरीखोलामा २०, इत्राम खोलामा १०, दुन्दुरे खोलामा ५ र खोर्के खोलामा ५ लिटर प्रतिसेकेण्ड गरी ९० लिटर प्रतिसेकेण्ड मात्र खानेपानी उपलब्ध भएको उनको भनाइ छ । वैशाख नलाग्दै ६९ लिटर प्रतिसेकेण्ड खानेपानीमा कमी आएको छ ।
वैशाख, जेठ, असारमा अझ वीरेन्द्रनगर काकाकुल बन्ने देखिन्छ । अर्कोतर्फ सबै धारामा समान तरिकाले खानेपानी वितरण हुन सकेको छैन । उपत्यकाको असमान भू–बनोटका कारण कुनै धारामा पानी जाने र कुनैमा नजाने समस्या हुन सक्ने खानेपानी संस्थाका कार्यालय प्रमुख गौतम बताउँछन् । ‘यस्तो अवस्थामा छरछिमेकमा मिलेर खानेपानी प्रयोग गर्न अपिल गरिएको छ,’ उनले भने ।
प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । जबकि उपत्यकाभित्र घरधुरी संख्या झण्डै ४० हजार पुगेको अनुमान गरिएको छ । समग्र वीरेन्द्रनगरमा ५१ हजार घरधुरी छन् ।
करिब ४ हजार दुई सयभन्दा बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा छन् ।
खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको उक्त संस्थाका कर्मचारी बताउँछन् ।
अहिले आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको छ । उक्त आयोजना सम्पन्न गर्न अझै केही वर्ष लाग्ने छ ।
त्यो बेलासम्म वीरेन्द्रनगरको खानेपानी समस्या के हुन्छ । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल भन्छिन्, ‘अहिले उपत्यका खानेपानीले खुवाइरहेको छ, स्रोत नपुगेको ठाउँमा हामीले तत्कालका लागि बोरिङ सञ्चालन गरेर पानीको व्यवस्थापनमा ध्यान दिन्छौँ ।’



