मुख्यमन्त्रीको कार्यशैलीप्रति कर्णाली कांग्रेसको असन्तुष्टि, नसुध्रिए सरकार छाड्ने चेतावनी

कर्णाली प्रदेशको सत्ता सञ्चालनबारे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच असमझदारी देखिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले एक्लै सत्ता चलाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो । कांग्रेस कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको आकस्मिक बैठकले मुख्यमन्त्री कँडेलले एक्लै सत्ता चलाइरहेको निष्कर्ष निकालेको हो ।
कँडेलले यसैगरी सत्ता चलाइरहे सरकारबाट बाहिरिन सक्नेसमेत कांग्रेसले चेतावनी दिएको छ । सरकारबाट जुनसुकै बेला बाहिरिन सक्ने भन्दै कांग्रेसका मन्त्रीहरूलाई तयार रहन भनिएको स्रोत बताउँछ । हामी कोही पनि सांसदहरू सरकारको कामप्रति खुशी छैनौं, कांग्रेसका एक सांसदले भने, सरकार भन्ने एक र गर्ने अनेक रणनीतिका साथ अघि बढिरहेको छ । यसरी सरकार एकलौटी रूपमा अघि बढेको खण्डमा सरकारमा सहभागी भइरहनु पर्छजस्तो हामीलाई लाग्दैन ।
ती सांसदका अनुसार मन्त्रीहरूले नै सरकार के गर्दैछ भन्ने कुराको जानकारी नहुने गरेको भन्दै बैठकमा दुखेसो पोखेका थिए । हामी सरकारमा छौं तर, काम शून्य छ, एक मन्त्रीले भने, हामी ठूलो दलको भएको भए पनि एमालेको एकल सरकार भएजस्तो भान मुख्यमन्त्रीले गराइरहनुभएको छ । संसदीय दलको बैठकले उहाँलाई सुध्रिन आग्रह गर्ने निर्णयसमेत गरेको छ । सबै सांसदले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि प्रदेश सरकारले जनताको चाहनाअनुसार काम गरेन भन्ने गुनासो आएको बताए । सरकार सञ्चालनमा सत्ता पक्षबीच छलफल हुनुपर्ने हो । मुख्यमन्त्री कँडेलले हालसम्म त्यसरी छलफल गर्नुभएको छैन, उनले भने, सरकारले गर्ने निर्णय र काम पनि ठूलो दललाई थाहा नै नहुने अवस्था आएको छ । त्यो सुध्रिनुपर्छ भन्ने हो ।
उनले पनि सरकारको व्यवहार नसच्चिए जुनसुकै बेला पनि बाहिरिन सक्ने बताए । मुख्यमन्त्री कँडेल एकल बहुमतको सरकार भए जसरी अघि बढ्न खोजेको उनले आरोप लगाए । तर, अहिले प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सँग तत्काल सहकार्यको सम्भावना भने नरहेको बताए । अहिले माओवादीसँग सत्ता सहकार्यको सम्भावना कम छ । हामीले चाहेर मात्रै हुँदैन,नेता शाहीले भने, तर हामी सरकारबाट त बाहिरिन सक्छौं नि ? लोकान्तरमा खवर छ ।



