माओवादी नेताहरूले विशेष महाधिवेशन माग गर्दै सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपतिको विरोध

काठमाडौँ ः नेकपा माओवादी जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले विशेष महाधिवेशन माग गर्दै सक्रिय राजनीतिमा फर्किने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको निर्णयको पनि विरोध गरेका छन्।

आइतवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमामाथि धारणा राख्ने क्रममा नेताहरूले उक्त माग राखेका हुन्।

पूर्वसभामुखसमेत रहेकी माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन्। त्यसका लागि अहिलेकै केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्नुपर्ने धारणा राखिन्।

उनको भनाइ थियो, ‘अब सामान्यखाले कार्यशैलीबाट हुँदैन। त्यसैले पार्टीभित्र महान बहस जरुरी छ। त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान बहसमा जुटौँ।’

पूर्वमन्त्रीसमेत रहेका नेता सुदन किराँतीले पनि विशेष महाधिवेशनको माग गरेका छन्। उनले भने, ‘यही बैठकबाट विशेष महाधिवेशनको मिति घोषणा गरौँ। केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौँ।’

बैठकमा ​पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्कने निर्णयको पनि विरोध भएको छ। नेता किराँतीले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका हुन्।

‘सम्माननीय उपराष्ट्रपतिज्यू राजनीतिमा आउने कुराले सकारात्मक सन्देश गएको छैन’, उनको भनाइ उदृत गर्दै एक नेताले भने, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनुपर्छ।’

माओवादी नेता लेखनाथ न्यौपानेले पनि यसअघि नै विरोध जनाएका छन् । उनले पूर्वउपराष्ट्रपति पुनलाई लक्षित गरेर निश्चित जिम्मेवारी, उमेर र अवधि पूरा गरेपछि सक्रिय पार्टीको सङ्गठनात्मक जीवनबाट बिदा अनिवार्य हुनुपर्ने बताएका छन्। थाहाखबर





error: Content is protected !!