सरकार असफल भएको र बिचौलियाको संरक्षणमा लागेको माओवादीको निष्कर्ष

काठमाडौँ ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’माथि छलफल गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए।

बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेका प्रवक्ता सापकोटाले जानकारी दिए।

आजको बैठकले सरकार असफल भइसकेको र उल्टोबाटोमा हिँडिरहेको निष्कर्ष निकालेको पनि उनले जानकारी दिए। उनले सुशासनको विरुद्धमामा भ्रष्टाचार गर्नेहरू तथा बिचौलियाको संरक्षण गर्न सरकार लागिपरेको निष्कर्ष रहेको पनि बताए। थाहाखबर





error: Content is protected !!