चीनबाट धमाधम आइरहेको छ एचपीभी खोप

काठमाडौँ ः किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आइतवार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ।

यसअघि दुई पटक गरेर एचपीभी खोप ल्याइसकेको छ। पहिलो चरणमा ४ लाख ६० हजार ९४० र दोस्रो चरणमा ५ लाख ४६ हजार ५४० मात्रा खोप आएको थियो। तीन चरणमा गरेर हालसम्म १५ लाखभन्दा बढी मात्रा खोप आइसकेको छ।

उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ। यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने तयारी भएको आपूर्ति शाखाले जनाएको छ।

‘एचपीभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट राष्ट्रिय खोप अभियान सञ्चालन गर्दै छ।

नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको हो।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ।

यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ।

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले भने, ‘हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ।

विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिन लागिएको छ।

आगामी वर्षदेखि फागुन महिनालाई नियमित एचपीभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ। आव २०८२र८३ देखि नियमित एचपिभी खोप सेवा सञ्चालन गरिनेछ।’

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’का अनुसार हरेक वर्ष नेपालमा दुई हजार १६९ जना महिलालाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ।

हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ। थाहाखबर





error: Content is protected !!