विश्व बैंक र एडिबीले लगानी नगरे माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौँ ः कुलमान
काठमाडौँ ः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन्।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताएका हुन्।
उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरे।
उनले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तरराष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए।
कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताए।
न्युज एजेन्सी नेपालसँग उनले विश्व बैंक, एडिबीलगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए।
उनले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए।
‘अपर अरुण नेपालको एउटा गेमचेन्जर आयोजना हो‚ १०६३ मेगावाटको। तत्काल बनाउनुपर्ने परियोजना हो। विगत लामो समय परियोजनाको ८ वर्ष लगाएर सम्पूर्ण तयारी पूरा भएको छ। अहिले टनेलसहितको २ किलोमिटरको पहुँज मार्ग छ। फुलफेजमा काम शुरु भएको छ। परियोजनालाई आवश्यक जग्गा अधिकरणदेखि सबै सकिए काम शुरु भएको छ। हेलिकप्टर प्रयोग गरेर सामानहरु लगेर काम गरिरहेको छ‚’ उनले भने, ‘आयोजनाको फाइनान्सिङको लागि विश्व बैंक, एडिबीलगायत अरु डेभलोपमेण्ट पार्टनरहरुले फाइनान्सिङ क्लोज गर्ने क्रममा छ। अप्पर अरुण बनाउनको लागि विश्व बैंक, एडिबीलगायत अरु डेभलपमेण्ट पार्टनरहरुले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्छ। यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ।’
उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताए। उनले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिए। उनले नेपालमा उत्पादित विद्युत गुणस्तरीय सप्लाईको लागि आवश्य ट्रान्समिसन लाइनहरु पनि क्रमिक रुपमा बनाउँदै गएको बताए।
‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठूलो योगदान गर्छ। ट्रान्समिसन लाइनमा वुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन। अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दाना देखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरुपमा चार्ज भयो‚’ उनले भने, ठूलो नेटवर्क बनेको छ हेटौँडादेखि ४०० केभी सकिन लागेको छ। प्राधिकरणले शुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ। मस्र्याङ्दी करिडोरको आगामी जेठसम्म सम्पन्न गर्ने चरणमा हामी छौँ।’थाहाखबर