माओवादी अध्यक्ष दाहाल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
काठमाडौँ ः अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार भेटवार्ता गरेका छन् । उनीहरुबीच दाहालको निवास खुमलटारमा भेटवार्ता भएको हो ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार दाहालले लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । दाहालले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गरे । उनले यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । भेटवार्तामा माओवादीका उपमहासचिव वर्षमान पुन पनि सहभागी थिए । दाहालले नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद दिए । उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए ।
नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताएको सचिवालयले जनाएको छ । ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं,’ उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’
दाहालले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराए । साथै, उनले शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए । दाहालले थपे, ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो । टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’
दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताएको पनि सचिवालयले जनाएको छ । दाहालले नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको बताए । उनले हालै जोशी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताए ।
अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताएको सचिवालयले जनाएको छ । लुले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद् खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताएका थिए । स्रोत ः कान्तिपुर