सिरियाको हमा शहर पनि विद्रोहीको नियन्त्रणमा
सिरियाको विद्रोही समूहले अर्को ठूलो शहर पनि नियन्त्रणमा लिएको छ। यसअघि अलेप्पो शहर नियन्त्रणमा लिएको जिहादी समूह हयात तहरीर अल(शामले हमा शहर नियन्त्रणमा लिएको हो।
हमा शहरभित्रको जेलमा आक्रमण शुरु गरेलगत्तै ठूलो लडाइँ शुरु भएको र सरकारी सेना पछाडि हटेको समाचारमा जनाइएको छ। लडाइँपछि हयात तहरीर अल शाम एचटीएस समूहका नेता अबू मोहम्मद अल–जवालानीले हमा शहरमा जित निकालेको घोषणा गरेका छन् ।
उनले शहर आफ्नो नियन्त्रणमा आएको भन्दै कसैसँग कुनै पनि प्रकारको बदला नलिने दाबी गरेका छन्। यसअघि विद्रोही समूहले हमा सहरको सेन्ट्रल जेल कब्जा गरेको थियो । त्यसपछि शुरु भएको लडाइँमा दुवै पक्षका कैयौँ व्यक्ति हताहत भएका थिए ।
जेलबाट एचटीएस समूहले कैदीहरूलाई भगाएको थियो। अलेप्पोबाट ११० किलोमिटर दक्षिणमा रहेको हमा शहरमा १० लाख मानिस बस्छन्।