अब सुर्खेतबाटै कर्णालीका तीन हिमाली जिल्लामा उडान हुने
नन्दा शाही
मुगु ः कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अब साविकका कर्णालीका तीन जिल्लामा हवाई सेवा सुरु भएको छ । निजी प्रदायक संस्था तारा एयरले सुर्खेतबाट हुम्ला , जुम्ला र मुगुमा उडान भर्ने उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले जानकारी दिनुभयो ।
नेपालगन्जबाट तीन जिल्लामा हुँदै आएको हवाई सेवा अब सुर्खेतबाट हुने भएपछि लुम्बिनी प्रदेशमा जानुपर्ने झनझटबाट मुक्त भएको हो । हिमाली टुर्स एण्ड ट्राभल्सको सहयोगमा तारा एयर मार्फत हवाई सेवा दिने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । पाँच वर्ष अघि पनि सुरु भएको यो हवाई सेवा फेरी बीचमा बन्द भएर पूर्ण सुरु भएको छ । बुधबार र शनिबार उडान हुने मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
यात्रुको चाप बढेमा दैनिक उडान भर्ने कार्ययोजना अनुसार नै काम भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य वायू सेवा कम्पनीलाई पनि सुर्खेतबाट उडान भर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । आज मन्त्री अधिकारीले उक्त सेवाको उद्घाटन गर्नुभयो ।