कर्णालीमा सबै परिणाम आयो ः माओवादी पहिलो

सुर्खेत , मंसिर १८ ः मंसिर १६ गते भएको उपनिर्वाचनमा कर्णालीमा भएको सबै ठाउँमा परिणाम आएको छ । जाजरकोट , दैलेख , कालिकोट , डोल्पा र हुम्लामा भएको चुनावमा सबै परिणाम आएको हो ।

जाजरकोटमा नेकपा (माओवादी केन्द्र) उपप्रमुखको उम्मेदवार देवका लामिछाने ४ हजार २७२ भोट ल्याएर विजयी हुनुभयो । उहाँले नेपाली कांग्रेसको उम्मेदवार इन्द्रा चन्द सिंहलाई १ हजार १२५ भोटले पछि पार्दै विजयी हुनुभएको हो । त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो ।

दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी हुनुभयो । उहाँले ३ हजार ११७ भोट ल्याएर नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीलाई पराजित बनाउनुभयो । कांग्रेसका उम्मेदवार शाहीले २ हजार ६७५ भोट ल्याउनुभएको थियो । दैलेखकै दुल्लु गाउँपालिका १३ मा पनि एमालेका उम्मेदवार लालबहादुर शाहीले ५७५ भोट ल्याएर विजयी हुनुभयो । उहाँले कांग्रेसका रेशमबहादुर शाहीलाई पराजित गर्नुभएको हो । डोल्पाको त्रिपुरासुन्दरी ५ मा माओवादी उम्मेदवार नरबहादुर झाँक्री १६१ भोट ल्याएर विजयी हुनुभयो । उहाँले एमालेका उम्मेदवार नरबहादुर रोकालाई पराजित गनुभएको हो । रोकाले ११६ भोट ल्याउनुभएको थियो ।

कालिकोटको तिलागुफा नगरपालिका ४ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खडगराज शाहीले १४३ भोट ल्याएर विजयी हुनुभयो । उहाँले माओवादी उम्मेदवार नैसोभा शाहीलाई पराजित गनुभएको हो । नैसोभाले ११५ भोट ल्याउनुभएको थियो । जाजरकोटको कुशे गाउँपालिका ७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्बहादुर सिंहले ३४७ भोट ल्याएर विजयी हुनुभयो । उपविजेता माओवादीका उम्मेदवार गोरखबहादुर नेपालीले ३३२ भोट ल्याउनुभएको थियो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्रीले ५९० भोट ल्याएर विजयी हुनुभयो । पराजित माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५३७ भोट प्राप्त गर्नुभयो । माओवादीले एक उपाध्यक्ष , एक उपप्रमुख , एक वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले दुई ठाउँमा वडाध्यक्ष जितेको छ । एमालेले दैलेखमा अध्यक्ष , एक सदस्य जितेको छ । नेपाल मजदुर किसान पार्टीले कालिकोटमा वडाध्यक्ष जितेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!