भ्रष्टहरूको संरक्षण गर्दागर्दै सरकार चल्नै नसक्ने अवस्थामा पुग्यो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सिरहा ः नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टहरुको संरक्षणमा लगेको आरोप लगाएका छन् । सिरहाको मुसहर्नियाँमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
अहिलेको सरकार भ्रष्टहरूको संरक्षण गर्दागर्दै आफैं चल्न नसक्ने अवस्थामा पुगेको उनको दाबी छ । ‘सरकारले मुलुकमा सुशासन र समृद्धिका लागि काम गर्नपर्ने हो,’ उनले भने, ‘तर, यो सरकारलाई भ्रष्टाचारीहरूलाई जोगाउनबाटै फुर्सद छैन, सरकार आफ्नै कारणले चल्नै नसक्ने अवस्थामा पुगेको छ ।’
मानव तस्करीमा मुछिएका कोशीका मन्त्रीलाई जोगाउन सरकारले खेलेको भूमिका, राज्यले प्रतिवादी बनाएको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको दलले लिएको अर्बौंको जग्गा दानलगायतका प्रकरणले यो सरकारको चरित्र उदांगो पारिदिएको श्रेष्ठले बताए । यो सरकारबाट विकास र सुशासनको कल्पनासम्म गर्न नसकिने उनको भनाइ छ ।
श्रेष्ठले आफ्नो पार्टी अहिले सरकार खसाउने र बनाउने खेलमा नरहेको पनि प्रस्ट्याए । तर, देश र जनताको पक्षमा काम गर्ने वातावरण बनेको खण्डमा भने आफूहरू सरकारमा जाने सक्ने उनले बताए । स्रोत ः कान्तिपुर










