दृष्टिविहीन विश्वकप क्रिकेट ः नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो

काठमाडौँ ः दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। यसअघि खेलेका दुई खेलमा पराजित नेपालले अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पाकिस्तानको लाहोर भइरहेको दृष्टिविहीन विश्वकपअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टस हारेरे पहिले ब्याटिङ गरेको थियो।
नेपालले २२८ रन बनाउँदै अफगानिस्तानसमक्ष खेल जित्नका लागि २२९ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले अल आउट हुँदै १२० रनमात्र बनायो र फराकिलो रन अन्तरले खेल हार्यो।
नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले। बडैलाले ५१ बलमा अविजित रहँदै ९२ रन बनाए भने चौधरीले ६२ बलको सामना गरेर अविजित ७२ रन बनाए। नेपालका लागि भरत थापाले २१ रन र सागर लामाले ४ रन बनाए।
अफगानिस्तानले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए।
दोस्रो ब्याटिङ गरेको अफगानिस्तानका लागि अबाशीनले ५२ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन्। द्वारनले २१ रन बनाए भने शराफतले १३ रन बनाए।
बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले ३ विकेट तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले १र१ विकेट लिए।
नेपालले अब भोलि (मंगलवार) दक्षिण अफ्रिकासँग चौथो खेल खेल्नेछ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन्।



