दशैं तिहार सकिए लगतै कर्णालीमा १७ वटा दुर्घटना, १२ जनाको मृत्यु

सुर्खेत ः आइतबार कालीकोट पलाता गाउँपालिका–३ राडुनेटामा ५ सिट क्षमताको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । १३ जना घाइते छन् । सोमबार जाजरकोटमा भएका दुई सवारी दुर्घटनामा ४५ जना घाइते भए । मंगलबारमात्रै सुर्खेत र जाजरकोटमा घाइते बोकेको एम्बुलेन्स, बोलेरो जिप र फोर्स गाडी दुर्घटनामा हुँदा ५ जना घाइते छन् ।
शुक्रबार दिउँसो पनि दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर–१४ रातानालामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । गत बुधबार सुर्खेतको वीरेन्द्रनगर कपासेमा पिकनिक स्थलबाट फर्कँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा २८ जना घाइते भए ।
सडक यातायातमा भर्खर पहुँच बढाइरहेको कर्णालीमा पछिल्लो समय लगातार भएका दुर्घटनाका खबरले यात्रु र सवारीचालक त्रसित बनेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो एक सातामा कर्णालीमा १७ वटा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् ।
मंगलबार सुर्खेतबाट दुर्घटनाका घाइते बोकेर नेपालगञ्ज गएको भूपू सैनिकद्वारा सञ्चालित एम्बुलेन्स रत्न राजमार्गमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् भने उता जाजरकोटमा विपरीत दिशाबाट आइरहेको बोलेरो जिप र फोर्स गाडी ठोक्किँदा तीन जना घाइते छन् ।
चालु आर्थिक वर्षमा कर्णालीभरि ४८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै २०७६ यता ६ सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सडक दुर्घटनाका घाइतेले प्रदेश अस्पताल सुर्खेतका अधिकांश बेड भरिएका छन् । पश्चिम एयर बेसमा रहेको नेपाली सेनाको हेलिकोप्टर घाइतेको उद्धारमै केन्द्रित हुने गरेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले अधिकांश सडक दुर्घटना ओभरलोड, साँघुरो बाटो र तीव्र गतिका कारण हुने गरेको बताए । ‘कर्णालीमा जति पनि दुर्घटना हुन्छन्, त्यो चालक र यात्रुको लापरबाहीका कारण देखिन्छ,’ उनले भने, ‘पाँच सिट क्षमताको गाडीमा ३२ जना बस्ने कहाँबाट हुन्छ ? सधैं प्रहरीले रोकेर हुन्छ र ? यात्रुमा पनि चेत जाग्नुपर्छ ।’
कर्णालीमा सडकको दयनीय अवस्था, पुराना सवारी साधन र चालकको लापारबाही दुर्घटना बढ्नुको मुख्य कारण हो । प्रदेश प्रहरी प्रवक्ता डाँगीका भनाइमा यहाँका सवारी चालकहरू निकै कम उमेरका छन् । चालक अनुमति पत्रमात्र नभई सार्वजनिक गाडी चलाउन अन्य योग्यता पनि मापन हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘१४ वर्षको उमेरमा गाडीमा सहचालकको काम गर्ने भर्खर सिकेको बेला चलाउन थालिहाल्ने । ट्राफिकले गाडीमा यात्रुको संख्या जाँच गरेर मात्र दुर्घटना कम हुने हैन, सवारी चालकको आचरण कसले जाँच गर्ने ?’
प्रदेश प्रहरी कार्यालयका अनुसार २०७६ यता कर्णालीमा ६ सय ६६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७६/७७ मा ९७, ०७७/७८ मा ९८ मा ०७८/७९ मा १८०, ०७९/८० मा ०७९/८० मा १३१, ०८०/८१ मा ११२ र ०८१/८२ मा ४८ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
वीरेन्द्रनगरका दिनेश थापाले प्रहरी–प्रशासनले कडाइ नगरेका कारण दुर्घटना भएको बताउँछन् । ‘सधैं सडकलाई दोष दिने भन्दा गाडी कति वर्षदेखि चलिरहेको छ,’ उनले भने, ‘कति सिट क्षमताको हो, कति यात्रु राख्ने अनुमति लिएको छ, कति सवार छन् भन्ने कुरा पनि हेर्न कडाइ गर्नुपर्छ ।’ दुर्गमका कच्ची सडकमा मात्र नभई राजमार्गमै झन् धेरै दुर्घटना भइरहेको उनले बताए ।
प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी अपिलराज बोहराले तेब्बर यात्रु बोकेर सवारी चालकले प्रहरी प्रशासनलाई छक्काउने गरेको बताउँछन् । ‘अहिले क्षमताभन्दा बढी राखेका ४ सय सिट निकालेका छौं । ट्राफिक प्रहरीलाई दोष देखाएर अन्य जिम्मेवार निकाय पन्छिएको देखिन्छ । यातायात, ट्राफिक र सडक विभाग सक्रिय हुनुपर्छ,’ उनले भने ।
चेकपोस्टमा गाडी इन्ट्री गराउँदा कम संख्या देखाएर ढाँट्ने, चेकपोस्टनजिक यात्रु झारेर हिँड्ने गरेको पाइएको उनले बताए । ‘प्रहरीले हेर्दा गाडीमा मानिस पनि कम हुन्छन् तर दुर्घटना हुँदा धेरै परेको पाइन्छ । सोमबार नै जाजरकोटमा चौकीमा इन्ट्री गराउँदा २१ जना गरिएको छ, दुर्घटना हुँदा ३८ जना गाडीमा सवार रहेको भेटिएको छ,’ उनले भने, ‘यस्तो रोक्न प्रहरीसँगै यातायात व्यवसायी, यात्रु सबै सचेत हुनु आवश्यक छ ।’ उता, चालकहरू भने पहाडी र हिमाली जिल्लामा सडक र यातायातको पहुँच सीमित मात्रमा हुने हुँदा सिट क्षमता कम भए पनि बाध्यताले यात्रुलाई सेवा दिनुपर्ने अवस्था सिर्जना हुने बताउँछन् । ‘कतिपय ठाउँमा दिनमा एकपटक एउटा गाडी मात्र चल्छ,’ लामो समय कालीकोटमा गाडी चलाइरहेका मदन विकले भने, ‘गाउँठाउँमा सिट छैन, अटाउँदैन भन्नै नपाइने अवस्था छ ।’ गाडी चढ्न नदिए अर्को दिन त्यो बाटो हिँड्न नपाइने डरले पनि क्षमताभन्दा बढी यात्रु बोक्नु पर्ने बाध्यता रहेको उनले सुनाए । ग्रामीण सडकमा ठूला गाडी नचल्ने र साना साधनमा धेरै यात्रु नअटाउने हुँदा बाध्यता हुने गरेको उनको तर्क छ । ‘साना गाडीमा धेरै अट्दैनन्, दुर्गमको बाध्यता छ, कति रहरले चढेका हुन्छन् कति कहरले,’ विकले भने ।
कर्णालीमा दुर्घटना हुने मुख्य कारणमा साँघुरो तथा कच्ची बाटो, ओभरलोड, चालकको लापरबाही, ट्राफिकको अनभिज्ञता र पुराना र थोत्रा सवारीसाधन धेरै चल्ने भएकाले दुर्घटना बढिरहेको प्रहरीको दाबी छ । स्रोत ः कान्तिपुर



