रवि लामिछानेकी पत्नी, ससुरा, जेठान र सालालाई कैद सजाय

काठमाडौं ः श्रम अदालत भक्तपुरले सहकारी छानबिन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेकी पत्नि निकिता पोडेलसहित ४ जनाविरुद्ध कैद सजाय तोकेको छ । श्रम अदालत भक्तपुरका न्यायाधीश द्वय वासुदेव आचार्य र निशा बानियाको संयुक्त इजलासले गत जेठ ३१ गते निकिता पौडेलसँगै उनका पिता उद्धव पौडेल, दाइ निरज पौडेल र भाइ निरक पौडेललाई एक महिना कैद सजाय तोकेको हो ।
भक्तपुर चाँगुनारायण न।पा। वडा नं २ बस्ने ज्ञानेन्द्र खड्काले गोपीकृष्ण मुभिज प्रालि, त्यसका सञ्चालक उद्धव पौडेल, निकिता पौडेल, नीरज पौडेल र निरक पौडेलविरुद्ध अदालतको आदेशको अवहेलना सम्बन्धमा २०८० पुस १८ गते निवेदन दिएका थिए ।
चाबहिलमा रहेको गोपीकृष्ण मुभिज प्रालिका सञ्चालक पौडेलहरूले श्रमिकहरूलाई दिनुपर्ने पारिश्रमिक, सेवा, सुविधा नदिई एकपक्षीय ढङ्गले सिनेमा हल बन्द गरेपछि त्यहाँ कार्यरत श्रमिकहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिक, सेवा, सुविधा नपाएकाले उपलब्ध गराईपाऊँ भनी श्रम अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए ।
मुद्दा दर्ता गर्ने श्रमिकहरूमा पाण्डवकुमार गौतम किरणमान सिंह, रवीन्द्र खत्री, ओमप्रकाश कोइराला, टेकबहादुर गुरुङ, राकेश देउजा, अरुण पौडेल, दिनेश महर्जन, न्हुचन्द्र बहादुर महर्जन, कृष्णमान नापित, गोपाल कामत, जगतमान लामा, दिनेश मिश्र, कपुर राई र सञ्जयकुमार गुप्ता थिए ।
सो मुद्दामा न्यायाधीशहरू वासुदेव आचार्य, प्रेम कुमार राई र निशा बानियाँको संयुक्त इजलासले काम गरेको वर्षको थप एक महिनाको रकमसहित सबै सेवा सुविधा र पारिश्रमिक रकम २०७७ असार २५ देखिको गणना हुने गरी भुक्तानी गर्न र त्यसअघिको भुक्तानी हुन बाँकी रकम पनि दिन आदेश गरेको थियो ।
उक्त आदेश कार्यान्वयन नगरेपछि खड्का अदालतको अवहेलनाको मुद्दा लिएर अदालत पुगेका थिए । अदालतको अवहेलना गरेको भन्दै उनीहरूलाई एक महिना सजाय तोकिएको तर हालसम्म उनीहरू पक्राउ परेका छैनन् ।
कैद सजाय भुक्तान भएका उनीहरू चारै जना हिरासतमा रहेका लामिछानेका नातेदार हुन् । उद्धव रविका ससुरा हुन् भने नीरज जेठान र निरक साला हुन् । निकितासहित चारै जना गोपीकृष्ण मुभिज प्रालिमा संलग्न छन् ।
सहकारी छानबिन समितिले निकालेको प्रतिवेदनमा पनि गोपीकृष्ण मुभिज प्रालिको नाममा ८१ लाख २५ हजार रुपैयाँ गएको देखिन्छ । जबकि यो समयमा गोपीकृष्ण मुभिज बन्द भैसकेको थियो । यसरी लामिछाने सिइओ भएको गोरखा मिडिया नेटवर्क प्रालिबाट गोपीकृष्ण मुभिज प्रालिमा पैसा आउनुले पनि सहकारी प्रकरणमा यो विषय जोडिन्छ ।



