लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड

वीरगन्ज ः वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको पाइएको छ । सानो पाइलाबाट गैरकानुनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । ०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने ०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।

सानो पाइलाका बचतकर्ताका अनुसार बचत अपचलनका विषयमा एक वर्षअगाडि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन । ‘त्यस बेला प्रमाण नपुग्दा प्रहरीले सहकारीको सञ्चालक समिति र कर्मचारीको मात्र नाम लियो,’ बचतकर्ता विक्रम अग्रवालले भने, ‘उजुरीमा गोर्खा मिडियाको नाम राख्न खोज्दा प्रहरीले प्रमाण माग गरेपछि नाम हटायौं ।’

संसदीय छानबिन समितिले प्रतिवेदनमा सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम सारिएको उल्लेख गरेपछि बचतकर्ताले प्रहरीलाई थप अनुसन्धान गर्न अनुरोध गरेका छन् । सानो पाइला सहकारीको बचत हिनामिनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए । ‘मुद्दा यसअघि नै अदालत गइसकेको छ,’ उनले भने, ‘थप आएका जाहेरीमा अनुसन्धान भइरहेको छ ।’ जाहेरीमा उल्लेख भएको नाम खुलाउन नमिल्ने उनको भनाइ छ ।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत पर्सामा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन् । सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र प्रबन्धक निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा छन् । सानो पाइला सहकारीबाट जोशीका नाममा पनि एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ ।

जीबी राईसँग प्रत्यक्ष जोडिएका कम्पनी तथा ती कम्पनीमा काम गर्ने कर्मचारीका नाममा बिनाधितो ऋण प्रवाह गरिएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ । सानो पाइला सहकारी समस्याग्रस्त बनेपछि वीरगन्ज महानगरपालिकाले स्थलगत अनुगमन गरी अनुसन्धान गरेको थियो ।

नेचर नेस्ट प्रालिलाई एक करोड ८५ लाख, नेचर हब इन्टरनेसनललाई एक करोड ३७ लाख, स्प्रिङ वुड रियल इस्टेटलाई एक करोड १३ लाख, कुमार रम्तेललाई ८४ लाख र ग्रेसी स्पुन रेस्टुरेन्टलाई ८६ लाख ऋण प्रवाह गरिएको छ । रोशनी गुरुङका नाममा एक करोड २८ लाख, सागर केसीका नाममा एक करोड १७ लाख, ओमप्रकाश गुरुङका नाममा एक करोड सात लाख, विशाल तमाङका नाममा ६ करोड ८३ लाख, नवीन अछामीका नाममा ३ करोड ४९ लाखलगायत ७५ जनाका नाममा ९३ करोड ६२ लाख ९७ हजार ऋण प्रवाह छ ।

गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीको घरबाट बरामद हार्ड डिस्कमा सानो पाइलाबाट रकम गोर्खा मिडियामा सारिएको फेला परेको हो । स्रोत ः कान्तिपुर





error: Content is protected !!