दुई करोड खर्चिएर एआई सम्मेलन गर्दै युवा संघ

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। स‌ंघले कार्तिक ११-१२ गते काठमाडौंको हायत प्यालेस होटल सोल्टीमोडमा सम्मेलन आयोजना गर्न लागेको प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनका हरेक सत्रमा सरकारका मन्त्रीलाई सहभागी गराउने गरी कार्यक्रम डिजाइन गरिएको पौडेलले बताए। सम्मेलनका लागि २ करोड बढी बजेट छुटाइएको छ।

युवा स‌ंघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै त्यसको समाजमा पर्न सक्ने प्रभाव र लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनमा एक हजार जनालाई सहभागी गराइने र जसमध्ये ५ सय युवा स‌ंघका प्रतिनिधि हुने प्रवक्ता पौडेलले बताए।

सम्मेलनमा फ्युजमेसिन्सका समीर मास्के, इयु रोबोटिक्सका जुहा रोनिङ, युनिभर्सिटी अफ हङकङका रोबोटिक्स सिस्टमका प्राध्यापक काजुहिरो कोसुजे, खलिफा विश्वविद्यालयका प्राध्यापक जर्ज म्यानुअल मिरान्ता डियास लगायतले धारणा राख्नेछन्।

कार्यक्रममा सबै पार्टीका नेताहरूलाई सहभागी गराएर सेसन समेत तयार पारिएको छ।

गगन थापा, गिरिराजमणि पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली भएको सेसन पनि हामीले राखेका छौ पौडेलले भने, विदेशबाट एआईका विज्ञहरूलाई पनि सम्मेलनका हरेक सत्रमा समावेश गर्ने तयारी छ। स्रोत ः सेतोपाटी





error: Content is protected !!