सामाजिक सुरक्षा भत्ताका लागि काप्रेचौरबासीलाई सधैं सास्ती

सल्यान ः जिल्लाको कालिमाटी गाउँपालिका–७ काप्रेचौरका ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरूले सामाजिक सुरक्षा भत्ता लिन सधैं सास्ती बेहोर्दै आएका छन् ।

उनीहरूलाई उक्त भत्ता लिन लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरसम्म पुग्नुपर्ने बाध्यता छ । पालिकाले वडाबाटै भत्ताको व्यवस्था गर्न नसक्दा र वडाभित्रै बैंक नभएका कारण उनीहरू भत्ताका लागि कोहलपुरसम्म जान बाध्य भएका हुन् ।

आफ्नै पालिकाको केन्द्रमा पुग्ने सडक अहिलेसम्म खुल्न नसकेको र नजिकै बैंक नभएका कारण भत्ताकै लागि कोहलपुर जानु पर्दा वडाका ३ सय बढी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाले विभिन्न किसिमको सास्ती भोग्दै आएका छन् । वर्षातको समयमा तीन महिना गाडी नचल्दा उनीहरूले लामो समय हिंड्नु पर्ने बाध्यता छ । हिउँदमा ३ सय ५० रुपैयाँ गाडी भाडा तिरेर चार घन्टा गाडीमा सवार भई भत्ता बुझ्न पुग्नुपर्ने वाध्यता रहेको घुइयाबारीका ८० वर्षीय गोपाल पुनले बताए ।

बाँके, सुर्खेत र बर्दियासँग जोडिएको वडा भएकाले कोहलपुर र सुर्खेतको बीचमा पर्ने भएकाले आफ्नै पालिका जाने मुख्य सडक नभएकाले कोहलपुर नै नजिक पर्ने भनी पालिकाले व्यवस्था गरे पनि राहतभन्दा आहत भएको उनले सुनाए । ‘काप्रेचौरको घुइयाबारीबाट चार घन्टा गाडीमा सवार गर्दा सडकको दुरावस्थाका कारण शरीर दुखेर हैरान भइन्छ,’ उनले भने, ‘भत्ता बुझेर घर फर्किंदा तीन दिन लाग्छ । एक महिनाको भत्ताको रकम त आउजाउमै खर्च हुन्छ ।’

शारीरिक अपाङ्गता भएका २९ वर्षीय चन्द्रबहादुर विकले आफूजस्तालाई झनै समस्या हुने गरेको बताए । ‘म राम्रोसँग हिँडडुल गर्न सक्दिनँ,’ उनले भने, ‘गाडी चढ्न पनि उत्तिकै सास्ती छ । बैंकले आफैं उपस्थित नभए भत्ता दिंदैन । साथी लगेर जाँदा र त्यहाँ बस्ने खानेको व्यवस्था गर्नु पर्दा धेरै रकम त्यही खर्च हुन्छ ।’
सरकारले ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएकालाई भत्ताको व्यवस्था गरे पनि वितरणको व्यवस्थापन गर्न नसक्दा आफूले विभिन्न किसिमका समस्या भोग्दै आएको उनको भनाइ छ । वडाबाटै भत्ता वितरणका लागि बारम्बार माग राख्दै आए पनि अहिलेसम्म पूरा हुन नसकेको उनको गुनासो छ ।

वर्षातका कारण सडक बिग्रिंदा र लामो समय गाडी चल्न नसक्दा दसैंका बेला भत्ता बुझ्न कोहलपुर जाने क्रममा चेपाङसम्म चार घन्टा हिंड्नु परेको घुइयाबारीकै ७५ वर्षीया अमृता कामीले बताइन् ।

मुलुकमा संघीयता लागू भएपछि घरघरमै सिंहदरबारको सेवा भन्दै आइए पनि काप्रेचौरबासीका लागि बैंकिङ कारोबार लगायत धेरैजसो सेवामा संघीयताको अनुभूति गर्न नपाएको घुइयावारीका दलवीर ओलीले बताए । वडाबासीका लागि नजिकै बैंक संचालन गर्न पटक–पटक माग राख्दै आए पनि असुरक्षाको कारण देखाउँदै सम्बन्धित निकायले बेवास्ता गर्दा आफूहरूले विभिन्न किसिमको कष्ट उठाउनु परेको उनले सुनाए ।

भौगोलिक विकटताका कारण कोहलपुरस्थित नविल बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यवस्था मिलाइएको र बैंकका कर्मचारी टाढा भएकै कारण आउन नमान्दा कष्ट भइरहेको वडाध्यक्ष मित्रलाल रिजालले बताए । ‘जबसम्म नजिकै बैंकको व्यवस्था हुँदैन, तबसम्म सामाजिक सुरक्षा भत्ताका लागि यस्तै सास्ती भोग्नु पर्ने देखिन्छ,’ उनले भने, ‘भत्ताका लागि कोहलपुरसम्म जानु पर्दा सबैभन्दा बढी समस्या शारीरिक अपाङ्गता भएकालाई भएको छ ।’





error: Content is protected !!