आफ्नै घरको पेटीबाट लडेर शारदा नगरपालिकाका कर्मचारीको मृत्यु

सल्यान ः आफ्नै घरको पेटीबाट लडेका जिल्लाको शारदा नगरपालिका सल्यानका एक कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-२ डाँडागाउँ घर भई शारदा नगरपालिका-३ को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी वर्ष ५२ का ओइलु रोकायको सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार बेलुकी घरको पेटीमा बसेका उनी एक्कासि लडेका थिए । घरको पेटीबाट लडेका रोकायको टाउकोमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।
लडेर अचेत भएका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको र त्यहाँबाट रेफर गरेर प्रदेश अस्पताल सुर्खेत हुँदै नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको उनले जानकारी गराए । उनका अनुसार मृत्यु भएका रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन थालिएको छ ।
कार्यालय सहयोगी रोकायको मृत्यु भएपछि सोमबार शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर पालिकासँग सम्बन्धित सबै कार्यालय, विद्यालय शोक बिदा गरेको छ ।










