कर्णालीमा असारे विकास भुक्तानी गर्ने प्रवृत्ति यस वर्ष पनि दोहोरियो
सुर्खेत ः जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णालीमा यस वर्ष पनि दोहोरिएको छ ।
जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको हो । सरकारले असारमा मात्र झण्डै तीन अर्ब रकम भुक्तानी गरेको छ । प्रदेशको कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार पछिल्लो १९ दिनमा ८.९३ प्रतिशत अर्थात् २ अर्ब ९८ करोड ९५ लाख ४६ हजार ८७१.६१ रुपैयाँ खर्च भएको छ ।
जेठसम्म सरकारले मुस्किलले मासिक ३–४ प्रतिशतसम्म मात्रै बजेट खर्च गर्ने गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएको थियो । असार १९ गतेसम्म कुल बजेटको ४६.८७ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड ३७ लाख ८९ हजार ४४६.४२ रुपैयाँ खर्च भएको छ ।
सरकारले बुधबारमात्रै ३५ करोड ३१ लाख ८५ हजार ६९८.४२ रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।