हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने बढ्दै

हुम्ला ः हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । कोरोनाको अवधिमा बन्द रहेको हिल्सा नाका चीनले गत वर्षबाट सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

गत वैशाख १५ गते यता सिमकोट हुँदै हिल्साबाट चीनको ताक्लाकोटबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या हालसम्म ११९ जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । केरुङ नाकाबाट आउनुभएको ४५ जना पर्यटकहरु हिल्साबाट सिमकोट हुँदै नेपालगञ्जतर्फ लागेका थिए ।

गत वर्षबाट हिल्सा नाका चीनले दुई तर्फी खोले पनि जम्मा १७ जना पर्यटकहरुले हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्नुभएको थियो । उहाँले गतवर्ष भन्दा पाँच गुण बढीले मानसरोवर कैलाशको दर्शन गरिसकेको र यो क्रममा अझै बढ्ने पर्यटन व्यवसायी गोर्ख लामाले बताउनुभयो । उहाँले अझै धेरै समूह आउने तयारी रहेको बताउँदै यस वर्ष पर्यटक आगमन वृद्धि हुने बताउनुभयो ।

भारतीय धार्मिक पर्यटकहरुलाई हिल्सा नाकाबाट प्रवेश नदिएको कारण एनआए र अन्य देशका पर्यटकहरु आएका छन् । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३१ हजारभन्दा बढी भारतीय लगायतका धार्मिक पर्यटकहरुले हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । पर्यटकहरु आउन थालेपछि सीता, तारा र समिट एयरका जहाजले दैनिक उडान भर्न थालेका छन् भने सिमकोटबाट हिल्सासम्म पर्यटक ओसार्नका लागि सिम्रीक एयरको हेलिकोप्टर सिमकोट विमानस्थमलमा नाइट स्टे रहँदै आएको छ ।

यता नेपाली भूमि नाम्खा गाउँपालिका-६ को लाप्चाबाट मानसरोवर कैलाशको दरदर्शन गर्नेको सङ्ख्या पनि दैनिक बढ्दै गएको छ । स्रोत ः गोरखापत्र





error: Content is protected !!