भूकम्पले क्षति पुगेका सामुदायिक विद्यालयलाई डेस्क बेञ्च सहयोग
त्रिवेणी (रुकुम पश्चिम), ५ असार ः रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयलाई डेस्क र बेञ्च सहयोग गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले नगरभित्र बढी प्रभावित भएका सामुदायिक विद्यालयलाई २० सेटका दरले डेस्क बेञ्च सहयोग गरिएको हो । बखुन्डोल ललितपुरमा रहेको जेइतुस सामाजिक संस्था र बाँकेमा रहेको जीवन ज्योति सामाजिक संस्थाले चार सय २० सेट डेस्क बेञ्च सहयोग गरेको आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुविधायुक्त डेस्क बेञ्च खरिद गर्दा लाग्ने खर्च, ढुवानी खर्चका साथै विद्यालयसम्म पुगेर डेस्क बेञ्चको जडान गर्ने प्राविधिक खर्चसमेत संस्थामार्फत सहयोग भएको हो । डेस्क बेञ्च सहयोग लिएर जेइतुसका निर्देशक फादर रोय सेवस्टेन र जीवन ज्योतीका निर्देशक जोमन जेम्ससहितको समूह नगरपालिका पुगेका थिए । उनीहरु सम्बन्धित विद्यालयमा डेस्क बेञ्च जडान गरेर फर्किसकेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरभित्रका १८ वटा माध्यमिक र तीन वटा आधारभूत विद्यालय गरी २१ वटा विद्यालयमा सुविधायुक्त डेस्क बञ्च जडान गरिएको छ । डेस्क बेन्च जडान भएसँगै विद्यार्थीको सिकाइमा सहज हुनुका साथै विद्यार्थीको कापी, किताबलगायत शैक्षिक सामग्री सुरक्षित हुने गाउँपालिकाले जनाएको छ । एक सेट डेस्क बेञ्चमा तीन जना विद्यार्थी बस्न मिल्ने क्षमता रहेको छ ।
गत कात्तिक १७ गते राति गएको भूकम्पले विद्यालयमा क्षति पुर्याउँदा अधिकांश विद्यालयले अस्थायी सिकाइ केन्द्र र चर्किएको भवनबाट पठनपाठन सञ्चालन गरेका छन् । आठबिसकोट नगरपालिकामा ६४ सामुदायिक विद्यालय रहेकामा ५४ वटा विद्यालयका भवन भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको छ । बाँकी १० वटा सामुदायिक विद्यालयमा कम क्षति भएको थियो । हाल २२ वटा विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको र १० वटा निर्माणको चरणमा रहको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।
अन्य विद्यालयमा चर्किएका भवनबाट पठनपाठन भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म शिक्षण संस्था पुनःनिर्माण हुन नस्कदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन गराउँदा गर्मीमा विद्यार्थी बेहोस हुन थालेपछि नगरपालिकाले मङ्गलबारदेखि असार ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको जनाएको छ ।