रुकुम पश्चिमको नेपानेमा गाडी दुर्घना हुदा ३ जनाको मृत्यु, ३ जना घाइते

रुकुम पश्चिम ः रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ नेपानेमा डबल क्यापको कर्णाली प्रदेश २००१ च ०४१३ नम्वरको बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार बेलुकी साडे ९ बजे उक्त गाडी दुर्घना भएको थियो ।

मुसिकोट नगरपालिका–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको –४ छिनखेत जाँदै गरेको वलर्ड लिङ्क कम्युनिकेसनको डबल क्याप बोलेरो गाडी नेपानेमा दुर्घटना परेको हो । गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका– ५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका– ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई लगत्तै जिल्ला अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए ।

घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका– ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका –५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीको भनाई छ । उनीहरू मध्य सुजल र टीकारामको अवस्था गम्भीर छ । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको शाहीले बताउनुभयो । दिलीप भने बोल्न सक्ने अवस्थामा रहेको र जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

नेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए । बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । प्रहरीका अनुसार गाडी सडकबाट करिब दुई सय मिटर भन्दा तल खसेको छ । उक्त गाडी तीन टुक्रा भएको बताइएको छ ।





error: Content is protected !!