ठाकुरज्युसम्म पर्यटन प्रवर्द्धन गर्न सडक निर्माण गरिँदै

जुम्ला, २३ जेठ ः जुम्लाको धार्मिक पर्यटकीय गन्तव्यकारुपमा रहेको ठाकुरज्युसम्म आन्तरिक तथा बाह्य पर्यटनलाई सहजरूपमा पुग्न सडक निर्माण गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको गुठिचौर गाउँपालिकाले ठाकुरज्युसम्म सडक निर्माण योजना अघि बढाएको हो ।

पर्यटकीय स्थान ठाकुरज्युसम्म पुग्ने सडक सहज बनाउन पालिकाले योजना बनाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । “बाटो नहुँदा आउँजाउँमा सास्ती खेप्दै आएका स्थानीयका साथै आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुरज्युसम्म जाने सडक पूर्वाधार निर्माणलाई जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष बुढाले यहाँको पर्यटन प्रवर्द्धनसँगै स्थानीयको जीवनस्तर सहज बनाउन सडक सञ्जाल विस्तार योजना बनाई काम थालिएको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्र आर्थिक समृद्धि, रोजगारी सिर्जनाका मुख्य आधार भएकाले सडक निर्माणलाई प्रथामिकतामा राखिएको उहाँको भनाइ छ ।

पालिकाको एक मात्र पर्यटन क्षेत्र रहेकाले ठाकुरज्युलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकारले पहल थालेको अध्यक्ष बुढाले बताउनुभयो ।

कामको गुणस्तर, समयमै काम सक्न नियमित अनुगमनलाई विशेष जोड दिने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी भण्डारीले बताउनुभयो । गुठिचौरको पर्यटन प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारसँग थप बजेटको माग गरिएको उहाँले जानकारी दिनुभयो ।

गुठिचौरको लाग्ना हुँदै ठाकुरज्यु जोड्ने सडकका लागि रु २८ लाख ४० हजार लाग्ने अनुमानसहित बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय ध्रुर्वराज गिरीले बताउनुभयो ।

अहिले सडक निर्माण भइरहेको गाउँपालिका प्राविधिक शाखा प्रमुख मीनबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार के एण्ड पी निर्माण सेवा डोल्पाले ठेक्का लिएको छ ।

कूल एक करोडको खुला प्रतिस्पार्धामा ठेक्का आह्वान भए पनि निर्माण व्यवसायीले घटेर रु २८ लाख ४० हजारमा सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार लाग्नाबाट ठाकुरज्युसम्म पहिलो चरणमा तीन हजार पाँच सय मिटर निर्माण हुनेछ ।

पहिलो वर्ष ट्र्याक खोल्ने र आगामी वर्षमा स्तरवृद्धि गरेर पर्यटन र स्थानीयवासीलाई ठाकुरज्युसम्मको यात्रा सहज हुने गरी निर्माण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।





error: Content is protected !!